सपथ खानुअघि आपत्

सपथ खानुअघि आपत्

तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) खोलेका जनार्दन शर्मालाई केन्द्रीय समितिको प्रथम पूर्ण बैठकमै आपत्त आइपरेको छ । काठमाडौँको सासा ब्याक्वैंटमा जारी बैठकमा कार्यकर्तालाई ‘भ्रम’मा राखेर सपथ खुवाउन लागिएपछि तनाव सिर्जना भएको हो । 
 
बताइएअनुसार हिजाे बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको पाँच सदस्यीय अध्यक्ष परिषद् र केन्द्रीय सदस्यहरुलाई सपथ खुवाउने सुरसार हुँदै थियो । त्यसअघि अध्यक्ष सुदन किराँतीले पार्टीको विधान र विचारधारा पत्र पढेर सुनाइरहँदा केही कार्यकर्ताले केन्द्रीय कमिटीको आकारसम्बन्धी विषयमा विरोध जनाएपछि माहोल बिग्रिएको जानकार स्रोत बताउँछ ।

हलको बीचमा बसेका एक कार्यकर्ताले रोक्दै ‘पहिले केन्द्रीय कमिटीको आकार स्पष्ट पार्नुहोस्, त्यसपघि अघि बढ्नुहोला’ भनेपछि किराँतीले ‘मलाई सक्न दिनुहोस् पहिला, पछि छलफल गरौँला’ भन्दै शान्त पार्न खोजेका थिए । तर हलकै पछाडि बसेका अन्य सिनियर नेताहरुले पनि ‘यो सपथ खाने कुरा हो, पहिला स्पष्ट पार्नुपर्यो नि’ भन्दै किराँतीलाई र्याखर्याखती पारेको भिडियो समेत सार्वजनिक भएको छ । भिडियोमा कतिपयले पार्टीको ‘विचारधाराबारे भ्रममा पारिएको’ भन्दै सपथअघि नै क्लियर पार्न भनेको समेत देखिन्छ । 

सो क्रममा पार्टीका संरक्षक भनिएका शर्मा भने तनावमा देखिएको सोही स्रोतले बतायो । कार्यक्रमको पहिलो लहरमा बसेका उनले सपथ खुवाउन पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राम कार्कीसँग खासखुस गर्दै सम्हालिने प्रयास गरेका थिए । झण्डै आधा घण्टाको तानावग्रस्त अवस्थापछि नेताहरु बल्ल शान्त बनेका हुन् । त्यसपछि डा. भट्टराईले शर्मासहितका नेता तथा कार्यकर्तालाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए।

टिप्पणीहरू