भीआईपीहरु स्वदेश र विदेशका दुबै उडानमा उत्तिकै, एकैदिन एमाले उपमहासचिव प्रदिप ज्ञवालीका चार उडान
काठमाडौंबाट विदेश र स्वदेशका विभिन्न उडानमा बाहिरिने र विदेश तथा स्वदेशका अन्य स्थानबाट राजधानी भित्रिने भीआईपीको संख्या हिजो निकै पाइएको छ । सो क्रममा बिहान ८ बजे एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेल बुद्ध एअरको उडानमा काठमाडौंबाट सुर्खेत जानुभएको थियो ।
बिहान पौने ९ बजे राप्रपा सांसद धवल समशेर राणा बुद्ध एअरको उडानमा काठमाडौं नेपालगञ्ज र बिहान १० बजेको समयमा भैरहवाबाट बुद्ध एअरको उडानमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र काठमाडौंका मेयर बालेन साह काठमाडौं आएको बताइन्छ ।
पूर्व अर्थमन्त्री युवराज खतिवडा बिहान ११ बजे बुद्ध एअरको उडानमा जनकपुर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ एअर इण्डियाको उडानमा बिहान साढे १० बजे नयाँ दिल्ली जानुभएको हो ।
काँग्रेस नेता कृष्णप्रसाद सिटौला बिहान ११ बजे यति एअरलाइन्सको उडानमा भद्रपुरबाट काठमाडौं आउनुभयो । बिहान १० बजे भैरहवाबाट काठमाडौं आउनुभएका एमाले उपमहासचिव प्रदीप ज्ञवाली श्री एअरको ११ बजेको उडानमा धनगढी जानुभएको हो ।
हिजै श्रीलंकाको राजधानी कोलम्बोबाट एमाले सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल काठमाडौं आएको बताइन्छ । श्रीलंकन एअरलाइन्सको बिहान पौने १२ बजे काठमाडौं आइपुगेको उडानमा विश्व बैंकका नेपाल, श्रीलंका र भुटानको निम्ति कन्ट्रि डाइरेक्टर फारिस हदाद जेर्भोस पनि पनि थिए ।
बैंककबाट नेपालका लागि इजरायलका राजदूत हानान गोदर गोल्डबर्ग दिउँसो साढे १२ बजे थाई स्माइलको उडानमा काठमाडौं आउनुभएको र सांसद सुनिल शर्मा दिउँसो पौने १ बजे नेपाल वायुसेवा निगमको उडानमा काठमाडौंबाट मुम्बई प्रस्थान गरेको बताइएको छ ।
अर्का सांसद प्रकाश पन्त दिउँसो सवा १ बजे श्रीलंकन एअरलाइन्सको उडानमा कोलम्बो र अमेरिकी राजदूत डीन आर थम्पसन हिजो दिउँसो पौने ३ बजे पोखरा जानुभएको छ ।
एमाले सचिव गोकर्ण विष्ट बुद्ध एअरको उडानमा साँझ साढे ५ बजे काठमाडौंबाट भैरहवा र बिहान धनगढी जानुभएका उपमहासचिव प्रदिप ज्ञवाली साँझ पौने ६ बजे काठमाडौं फर्कनुभएको थियो ।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल साँझ पौने ६ बजे बुद्ध एअरको उडानमा काठमाडौं र बुद्ध एअरको उडानमा एमाले उपमहासचिव प्रदिप ज्ञवाली पौने ७ बजे भैरहवा प्रस्थान गर्नुभएको थियो ।
टिप्पणीहरू