उल्टै किन चिच्याउँछौ टिकाराम ?
काठमाडौँलाई अड्डा बनाई रुकुम पश्चिम मग्माको बासिन्दा र आफूलाई पत्रकार भन्ने टीकाराम खनालको फन्दाबाट अरु युवालाई जोगाउन करिब तीन महिनाअगाडि जनआस्थामा पत्र प्रकाशन भएकोमा टिकारामलेसोको सत्यता पुष्टि गर भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक चुनौती दिएको व्यहोरा पढ्न पाइयो । टिकाराम, हामीले तिम्रो सबै गतिविधि ५ वर्षदेखि गोप्य रूपमा अनुगमन गर्दै आएका थियौं ।
सशस्त्रको चिफ शैलेन्द्र खनालसँग भेट हुनुपूर्व र उनीसँग भेट भएपछि तिम्रो औकात कहाँबाट कसरी फेरियो ? तिमीले सार्वजनिक चुनौती दिएकै हो भने आफ्नै दिदीबैनीजस्ती रुकुमकी एक जना इज्जतदार महिलाको पत्रिकामार्फत चरित्रहत्या गरेको अभियोगअन्तर्गत ३ महिना जेलमा बसेको होइन भनेर रुकुम जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रमाण पेश गर ।
त्यही काण्डदेखि तिमी जिल्लामा बस्न लाज भएर काठमाडौँतिर भासिएको हो कि होइन ? अनि दाजुको नाता लगाएर शैलेन्द्र खनालसँग नजिक भई उस्तैखाले नीलो पोशाक पहिरिएको तस्बिर देखाउँदै जवान, अ.स.इ. र इन्स्पेक्टर भर्नादेखि एसपीसम्मलाई गणपति नियुक्ति, शान्ति सेना, बोर्डर र भन्सार नाकामा पठाउन, कमाउने ठाउँमा घुमुवा खटाउन कोशेलीको चलखेल गरेको हो कि होइन ? आईजिपीकै भाइ बनेर नेपालभरि सशस्त्र प्रहरीका अधिकांश बाहिनी, गण र गुल्म भ्रमण गरी फाइदा लिएको हो कि होइन, सशस्त्रका कुन–कुन बाहिनी, गण गुल्ममा तिम्रो सवारी भयो भनेर मिति र लोकेसन खुलाउनुपर्यो ? रिटायरपछि राजदूत बनाइदिन्छु भनी शैलेन्द्रलाई मुर्गा बनाएको हो कि होइन ?
गत निर्वाचनमा रुकुमपूर्वबाट अमेरिकामा मानव तस्करी गर्ने कांग्रेसका प्रदेश सभा उम्मेदवार धनबहादुर केसीको प्रचारप्रसारका लागि भन्दैसल्ले एरपोर्टबाट मंसिर १ गते सेनाको गाडीमा रुकुमकोट पुगेको हो कि होइन ? धनबहादुर केसीको चुनाव प्रचारमा शैलेन्द्रको फोर्स लगाई राष्ट्रिय फौजलाई व्यक्तिको चुनाव प्रचारप्रसारमा प्रयोग गरेको हो कि होइन, हामीसँग भिडियो पनि छ । यो कुरा सशस्त्रका वर्तमान आइजी राजु अर्यालले चेक गरुन् ।
टिकारामले प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री, मन्त्रालयका सचिवहरू, शेरबहादुर, गगन थापा, लोकसेवा आयोग, जर्नेल–कर्नेल, आइजी, डिआइजीहरूसँग बसेर खिचेको फोटो देखाई सबैसँग आफ्नो सुमधुर सम्बन्ध भएकोले युवाहरूलाई फौज र निजामतीमा जागिर लगाउन सक्छु, जागिरेलाई मालदार अड्डामा सरुवा गरिदिन्छु भनेर गुमराहमा पार्ने गरेको हो कि होइन ? होइन भने महिनामा २० हजार कमाइ गर्न नसक्ने बेरोजगार व्यक्तिले काठमाडौँमा १ वर्षभित्रै ४ करोडको घर, ५० लाखको गाडी र १ करोडको बिहे कसरी कुन स्रोतबाट गर्यौ ? विवाह गर्दा हातका दशैवटा औंलामा सुनको औंठी कसरी आयो ? औंठी लगाएको फोटो सार्वजनिक गरौँ ? तसर्थ, पत्रकारको मुकुण्डो लगाएर, पत्रकारको सामान्य धर्मसमेत पालना नगरी ठूलाबडाको नाममा व्यापार गरेर युवालाई ठग्ने गतिविधि गोप्य रूपले बुझ्न र सोहीअनुसार कारबाही हुन रुकुम जिल्ला प्रशासन कार्यालयलाई अपिल गर्दछौं ।
लापलुप पारेर पैसा कमायो भन्दैमा गाउँका आफ्नो बालसखा, तेह्रदिने दाजुभाइ र छिमेकीलाई इन्कार गर्ने, ठूलाबडाको फोटो देखाएर फूर्ति लगाउने अनि उल्टै चरित्रहत्या गरियो भनी प्रमाणित गर्न सार्वजनिक चुनौती दिने ? सभामुखले भनेका सबै कुरा असत्य हैनन् । टिकाराम प्रवृत्तिबाट प्रेस काउन्सिल र पत्रकार महासंघ पनि बच्नुपर्यो । आफैंभित्र शुद्दिकरण हुनुपर्यो ।
– टिकारामबाट ठगिएका युवा
टिप्पणीहरू