भागबण्डाको बिबाद बल्झिएपछि बालुवाटारमा चरण चरणका बैठक
हिजै मन्त्रालय भागबण्डा टुंगो लागेको र आज मन्त्रीको शपथ गराउने भनिएको सत्तारुढ गठबन्धनमा पुन: बिबाद चर्किएको छ ।
कांग्रेस र माओवादी बाहेकका साना पार्टीहरुले भागबण्डामा चित्त नबुझाएपछि हिजो भएको भनिएको सहमति आजै उल्टिएको हो । संख्या बाहेक विकासे मन्त्रालयमा सबैको आँखा लागेका कारण पनि भागबण्डा मिलाउन सकस परेको बताइन्छ ।
स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले तीन मन्त्रालयको अडान छोडेका छैनन् । यसअघि उनीहरुले दुई मन्त्रालयमा चित्त बुझाएको भनिएको थियो । भागबण्डा नमिलेपछि आज हुने भनिएको मन्त्रीको शपथ अनिश्चित भएको छ । जसका कारण प्रधानमन्त्री निवास बालुवाटारमा अहिले गठबन्धन दलका शीर्ष नेताहरु अलग-अलग छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरिरहनुभएको छ ।
उक्त छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मिसिनुभएको बताइएको छ । दुई मन्त्रालय र एक राज्यमन्त्रीमा जसपा र एसलाई मनाउने कोशिश जारी छ ।
यसअघि माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, काँग्रेसलाई आठ, जसपा र एकीकृत समाजवादीलाई दुई-दुई र जनमोर्चा बाहेक गठबन्धनका बाँकी घटकहरुलाई एक-एक मन्त्रालय दिनेगरी भागबण्डा टुंगिएको बताइएको थियो । प्रधानमन्त्री प्रचण्डले आज चितवनको कार्यक्रममा पनि भागबण्डा मिलिसकेकाले आजै मन्त्रीको शपथ हुने बताउनुभएको थियो ।
टिप्पणीहरू