उपनिर्वाचनमा भोट हाल्नेको संख्या र स्थान तय

उपनिर्वाचनमा भोट हाल्नेको संख्या र स्थान तय

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र निर्धारण गरेको छ ।  

आयोगले उपचुनाव हुने तीन जिल्लाका लागि १९४ मतदानस्थल र ४२७ मतदान केन्द्र तय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार चितवन क्षेत्र नम्बर २ मा ४३ मतदानस्थल र १३८ मतदान केन्द्र रहनेछ । त्यस्तै, तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र १५२ मतदान केन्द्र रहनेछ ।

बारा-२ मा ८२ मतदानस्थल र १३७ मतदान केन्द्र रहने प्रवक्ता पौड्यालले जानकारी दिए । आयोगले अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरेको छ । जसमा चितवन निर्वाचन-२ मा एक लाख २४ हजार ६९५, बारा-२ मा एक लाख ५ हजार २४८ र तनहुँ-१ मा एक लाख २३ हजार ३०५ जना मतदाता रहेको आयोगले जनाएको छ ।
 
आयोगले देशभर भने एक करोड ८० लाख एक हजार ५६६ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ । जसमा पुरुष मतदाता ९१ लाख ४९ हजार ३३५ रहँदा महिला मतदाता ८८ लाख ५२ हजार ४६ जना छन् । त्यस्तै, अन्य १८५ जना छन् ।
 
आयोगका अनुसार गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा महिला ८८ लाख ४७ हजार ५७९, पुरुष ९१ लाख ४० हजार ८०६ र अन्य १८५ गरी एक करोड ७९ लाख ८८ हजार ५७० रहेकोमा हाल १२.९९६ प्रतिशतले मतदाताको संख्या वृद्धि भएको छ ।

टिप्पणीहरू