सार्वजनिक पद धारण गरेकाले सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

सार्वजनिक पद धारण गरेकाले सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानसरकारी विद्यालयमै पढाउनुपर्ने अनिवार्य निर्णय गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले शैक्षिक सत्र २०८० मा आफ्ना सन्तान अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने नगरपालिकाले जानकारी गराएको छ ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा लागु गरिएको जानकारी गराउँदै नगरपालिकाले अंग्रेजी, नेपाली तथा अन्य कुनै पनि माध्यमबाट दिइने शिक्षा निशुल्क हुने बताएको छ । 

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उक्त निर्णय गरिएको नगरप्रमुख अजय थापाले बताए । 

शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको निम्ति बनेको ऐन, २०७५ को दफा ६ को उपदफा (१) अनुसार सो व्यवस्था गरिएको उनले जानकारी दिए । आउँदो शैक्षिक सत्रमा अनिवार्य रुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउन जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा अन्य संगठित संस्थामा कार्यरत कर्मचारीलाई सुसूचित गराइएको छ ।

टिप्पणीहरू