बलात्कार मुद्धामा बयान फेर्ने युवती जेल चलान
रुकुम पश्चिममा जबरजस्ती करणी मुद्धामा पीडित भनिएकी युवती नै कारागार चलान भएकी छन् । आफूमाथि बलात्कार भएको भन्दै मुद्धा दिएकी रमा (नाम परिवर्तित) ले अदालतमा बयान फेरेपछि उनीमाथि नै कैद फैसला भएको थियो ।
प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम अदालतले २०७५ असार २० गते पीडित भनिएकी केसीलाई एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै उनी फरार रहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार रमालाई चार वर्षपछि फागुन २४ गते पक्राउ गरेर अदालतमा बुझाएको थियो । प्रहरी निरीक्षक बिष्णुकुमार श्रेष्ठले अदालतको आदेशअनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताउनुभयो । प्रहरीको रेकर्डमा परिवर्तित नाम,थर,वतन रुकुम (५४) राखिएकी ती युवतीले पहिला आफू माथि बलात्कार भएको भन्दै प्रमाणसहित प्रहरीमा उजुर दिएकी थिइन् भने पछि अदालतमा बयान बदलेको प्रहरीको भनाई रहेको छ ।
रमाले फागुन २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्ने बताईएको छ । अदालतको फैसला अनुसारको एक हजार रुपियाँ जरिवाना रकम समेत अदालतमा बुझाइसकेको प्रहरीको भनाई रहेको छ । उनले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका एक पुरुषबिरुद्ध जबरजस्ती करणी मुद्धा दिएकी थिइन् ।
टिप्पणीहरू