रुसी पेट्रोलियम पदार्थ धेरै खरिद गर्दै आएको भारतमा युक्रेनी उपविदेशमन्त्री
युक्रेनी प्रथम उपविदेशमन्त्री एमिने झापारोभाको आज भारत पुग्ने कार्यक्रम छ । आपसी हित र विश्वव्यापी मुद्दामा छलफल गर्न उनी नयाँ दिल्ली आउन लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
आगामी बुधबारसम्मको चार दिने भ्रमणमा उनले भारतीय विदेश मन्त्रालयका पश्चिम हेर्ने सचिव सञ्जय वर्मासँग वार्ता गर्ने बताइएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध, युक्रेनको वर्तमान अवस्था र विश्वव्यापी मुद्दामाथि छलफल गर्ने छन् ।
भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कका अनुसार उपविदेशमन्त्री झापारोभाले विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखी र उपराष्ट्रिय सुरक्षा सल्लाहकार विक्रम मिश्रीसँग पनि भेट गर्ने कार्यक्रम छ ।
भारत र युक्रेनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ३० वर्षको अवधिमा दुबै मुलुकले व्यापार, शिक्षा, संस्कृति र रक्षाका क्षेत्रमा धेरै सहयोग आदानप्रदान गरिसकेका छन् । झापारोभाको भ्रमण रुस र युक्रेनबीच युद्ध चलिरहेको बेलामा हुन लागेकाले विश्वका धेरै मुलुकको ध्यान खिचेको छ ।
यता, प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग गर्नुभएको पटक पटकको टेलिफोन वार्तामा शत्रुता अन्त्य गर्न आग्रह गर्दै आएको बताइएको छ । जबकी युद्ध शुरु भएदेखि रुसको पेट्रोलियम पदार्थ सबैभन्दा धेरै भारतले सस्तोमा खरिद गर्दै आएको छ ।
टिप्पणीहरू