मृतकको बीमा रकम पचाउने गिरोहका थप दुई समातिए
मृतकको बीमा रकम पचाउने गिरोहका थप दुई अभियुक्तलाई प्रहरीले पक्रेको छ । वैदेशिक रोजगारीको सिलसिलामा उतै निधन भएका तथा मुलुक आउँदा यता बितेका नेपालीले प्राप्त गर्ने बीमा रकम ठगी कार्यमा संलग्न थप दुई जनालाई प्रहरीले समातेको हो ।
पक्राउ परेकामा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा (कम्प्युटर अधिकृत) पशुपति अधिकारी र सूर्यज्योति जीवन बीमा कम्पनीका जुनियर अधिकृत उमेश बुढाथोकी हुन् । अधिकारीलाई काठमाडौं महानगरपालिका वडा नम्बर १९ र बुढाथोकीलाई भक्तपुरको कमलविनायकबाट अस्ति शुक्रबार पक्राउ गरिएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरुले बीमावापत प्राप्त रकमको केही हिस्सा मृतकका आफन्तलाई दिएर ठूलो रकम आफूहरुले बाँडीचुँडी लिएका थिए । प्रहरीले आवश्यक कारबाहीको निम्ति दुवै जनालाई जिल्ला प्रहरी परिसर, टेकू पठाएको छ ।
प्रहरीले चैत २३ गते सोही टोलीका अन्य छ जनालाई पक्राउ गरेको थियो । सर्लाहीका विनोदकुमार लामा, डिकबहादुर मल्ल, रवीन्द्र मोक्तान, रुद्रमान गोले, प्रकाशबहादुर गोले र काभ्रेका रामबहादुर तामाङ्गलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएपछि सोही दिन अरु दुई जना पक्राउ परेका हुन् ।
टिप्पणीहरू