विदेशको नाममा नियमित ठगी, अमेरिका र कोरियाको प्रलोभन देखाउने राणा पक्राउ

विदेशको नाममा नियमित ठगी, अमेरिका र कोरियाको प्रलोभन देखाउने राणा पक्राउ

वैदेशिक रोजगारीमा राम्रो मुलुक पठाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएका एक जनालाई प्रहरीले पक्रेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अमेरिका र कोरिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेका ४२ वर्षीय पवन राणालाई पक्राउ गरेको हो । 

काठमाडौं महानगरपालिका १४ घर भई हाल कपन बस्दै आएका उनले वैदेशिक रोजगारीमा अमेरिका र दक्षिण कोरिया पठाइदिने भन्दै सयौ जनाबाट करोडौं रुपैयाँ असुलेको तथ्य खुलेको छ । 

रकम लिएर राणा एकाएक सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागले उनलाई पक्राउ गरेर उपस्थित गराइदिन आग्रह गर्दै कार्यालयलाई पत्राचार गरेको थियो । 

कार्यालयबाट खटिएको विशेष टोलीले हिजो उनलाई कपनबाट पक्रेको बताइएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू