नेपाल नजिकै भारतीय पूर्व सांसद र भाइको गोली हानी हत्या

नेपाल नजिकै भारतीय पूर्व सांसद र भाइको गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा एक जना पूर्व साँसद तथा उनका भाइको गोली हानी हत्या गरिएको छ ।

उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफमाथि गोली प्रहार भएको हो ।पत्रकारको भेषमा आएका आक्रमणकारीले दुबै जनालाई गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ । आक्रमणकारी पक्राउ परेका छन् ।सञ्चारकर्मीहरुसँग कुरा गरिरहेको अवस्थामा उक्त स्थानमा पत्रकार बनेर आएका आक्रमणकारीले दाजुभाइमाथि गोली बर्साएका थिए । प्रहरीका अनुसार स्थानीय अस्पतालतर्फ जाँदै गरेको समयमा अतिक पत्रकारहरुसँग कुराकानी गर्दै थिए ।

त्यसपछि नजिकै रहेका आक्रमणकारीले पूर्वसांसद र उनका भाइलाई लक्षित गरेर अन्धाधुन्द गोली प्रहार गरे । उक्त घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय बैठक बोलाएर जाँचबुझका लागि आदेश दिएका छन् । यसनिम्ति  तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको बताइएको छ ।

अतिकमाथि उत्तर प्रदेशका प्रहरी राजु पालको हत्या प्रकरणका साक्षी उमेश पालको हत्या आरोप लागेको थियो । अतिक र उनका भाइ असरफलाई प्रहरीले पक्रेर सोधपुछ गरिरहेको र न्यायिक हिरासतमा पठाउनुअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै गर्दा उक्त घटना भएको हो ।

अतिकलाई राजु पालको हत्या प्रकरणमा आजिवन काराबासको सजाय सुनाइएको थियो । उनका भाइ असरफले भने सफाइ पाएका थिए । अतिकले सर्वोच्च अदालतमा हिरासतमा आफू असुरक्षित रहेको निवेदन यसअघि नै हालेको बताइन्छ ।

उनीविरुद्ध एक सयभन्दा बढी मुद्दा दर्ता छ । दुई दिनअघि बिहीबार मात्रै अतिकका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मद प्रहरीको जवाफी आक्रमणमा मारिएका थिए । उनीहरुको अन्तिम संस्कार हिजो दिउँसो प्रयागराजमा नै गरिएको थियो । 

दुवै जनाको नाममा उत्तर प्रदेश सरकारले पाँच लाख रुपैयाँको पुरस्कारको घोषणा गरेको थियो ।


 

टिप्पणीहरू