आज पनि दुई जना ठग समातिए, अमेरिका पठाइदिने प्रलोभनमा साढे ३ करोड झ्वाम

आज पनि दुई जना ठग समातिए, अमेरिका पठाइदिने प्रलोभनमा साढे ३ करोड झ्वाम

पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि अन्य मुलुक जानेको संख्या हवात्तै बढेको छ । मुलुकमा एकातिर बेरोजगारी र अर्कातिर आर्थिक संकट निम्तिँदा वैदेशिक रोजगारीका लागि विदेशिनेको क्रम बढ्दै गएको छ । 

वैदेशिक रोजगारीका लागि विदेशिनु अहिलेका युवाहरुको रहर नभई बाध्यता हो । तर, सीमित व्यक्तिहरुले यसको फाइदा उठाएर आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाइदिने नाममा ठगी गर्दै आएका छन् । 

यसरी बाध्यतामा वैदेशिक रोजगारीका लागि विदेश जान बैंक तथा वित्तीय संस्था वा व्यक्तिहरुबाटै मिटरब्याजमा ऋण लिएकाहरु प्रलोभनमा परेर ठगिने गरेको थुप्रै घटना बाहिर आएका छन् । 

सोही क्रममा आज पनि वैदेशिक रोजगारीमा अमेरिका र पोर्चुगल पठाइदिने नाममा ठगी गर्दै आएका दुई व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका उज्वल खड्का र टिकाबहादुर भण्डारीलाई प्रहरीले पक्रेको हो । 

भक्तपुरको लोकन्थली बस्दै आएका ४४ वर्षीय उज्वलले वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायतलगायत मुलुक पठाइदिने भन्दै २० जनाबाट करोडौँ रुपैयाँ असुलेको तथ्य खुलेको छ । यी मुलुक जान प्रतिव्यक्ति ३० लाख लाग्ने र मासिक चार लाखभन्दा बढी आम्दानी हुने प्रलोभनमा पीडितबाट पटक पटक गरेर ३ करोड ५६ लाख ८ हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । 

यस्तै, सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २३ वर्षीय टिकाबहादुरले पनि वैदेशिक रोजगारीका लागि पोचुर्गल पठाइदिने प्रलोभनमा लाखौँ रकम ठगेको प्रहरीले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि पोचुर्गल पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पीडितबाट पटक पटक गरेर १५ लाख उठाएपछि उनी सम्पर्कविहीन भएको खुल्न आएको छ । 

यता आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । विभागकै अनुरोधपछि नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू