गोली खाएकी हजुरआमा हाँस्न थालेपछि...
नातिको गोली खाएकी बज्यै जब हाँस्न थालिन् तब सबै आश्चर्यचकित बने । चीनमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव एवं भूतपूर्व अर्थमन्त्री वर्षमान पुनकी गोली खाएकी आमा अस्पतालको बेडमा मरिमरि हाँस्न थालेपछि शीघ्र स्वास्थ्यलाभको कामना गर्न पुगेका आफन्तहरु नै, अक्कबक्क परेका हुन् । आफ्नै नाति सहायक हवल्दार प्रकाश पुनको पेस्तोलबाट छुटेको गोली लागेकी ७६ वर्षीया तीर्थमाली पुन हाल अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । गोली हान्ने प्रकाशलाई भने हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
वैशाख १ गते बालुवाटार नजिकैको गैह्रीधाराएलिस पार्टी प्यालेस आसपास पूर्वमन्त्री पुनको डेरामा यो घटना घटेको हो । नयाँ वर्ष मनाउन त्यहाँ पुगेका अंगरक्षक प्रकाशको हातबाट छुटेको गोलीले आमा घाइते भएकी हुन् ।
प्रकाश बृद्धा आमाको नाति भएको बताइएको छ । एकै परिवारको भएकाले उनी आउजाउ गरिरहन्थे । सँगै नयाँ वर्ष मनाउने भन्दै सो दिन मदिरा लिएर त्यहाँ पुगेका नातिलाई देखेपछि हजुरआमा पनि मख्ख परिन् । दुवैले संगै बसेर मदिरा सेवन गरे । ‘रक्सी’ ले लठ्ठयाएको सुरमा नातिले भने, ‘अब म घर जान्छु । ढिला भइसक्यो ।’ नातिले जान्छुकि जान्छु भनेर ढिपी कसेपछि उनले भनिन्, ‘आज यतै बस्, ढिलो भइसक्यो । तँसँग साथी पनि कोही छैन ।’
त्यसपछि नातिले यो साथी के त, मसँगछँदैछ नि भन्दै पेस्तोल झिके र नचाउन थाले । सोही क्रममा यो अप्रिय घटना घटेको हो । आफैंले नचाउँदै गरेको पेस्तोलबाट गोली छुटेको उनले थाहा नै पाएनन् ।
‘मिसफायर’ भएको गोली सिधै बृद्धाको पिँडुलामा लाग्यो । उनी ढलेपछि नाति अत्तालिए । रातको साँढे ११ बजे घटना घटेको भएपनि १ बजे वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरियो ।
वृद्धा आमालाई अस्पताल भर्ना गरेर उनी भैंसेपाटीस्थित डेरा गएका थिए । हल्लाखल्ला भएपछि उनलाई प्रहरीले त्यहींबाट नियन्त्रणमा लिएको हो । यता, पूर्वमन्त्री पुनकी आमाको स्वास्थ्यमा सुधार आएको छ । होश खुल्दा उनी अस्पतालको बेडमा मुस्कुराइरहेकी थिइन् । उनलाई भेट्न अस्पताल पुगेको स्रोतले भन्यो, ‘आमा हाँस्दै हुनुहुन्थ्यो, नातिको हातबाट लागेको गोली भनेर होला नि । गोली लागेजस्तै देखिनुभएको थिएन । मोरोले गोली खेलाउँदै थियो, हान्दियो भन्दै मरिमरि हाँस्नुभयो ।’
यता, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सवारीमा अगाडि गुड्ने गाडीमा बस्ने सुरक्षाकर्मीसमेत रहेका प्रकाशलाई प्रहरी प्रधान कार्यालयस्थित नम्बर १ गणको आन्तरिक थुनामा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत उक्त घटनालाई ‘दुर्घटना’ को संज्ञा दिएको छ । उनले नियतवश गोली नचलाएको निश्कर्ष प्रहरीको छ । ‘प्रारम्भिक अनुसन्धानबाट नियतवश गोली हानेकोजस्तो देखिँदैन । यो विषयमा थप अनुसन्धान भइरहेको छ’, प्रहरी स्रोतले भन्यो,‘नातेदार भएकाले मुद्दा त चलाउँदैनन् होला । प्रहरी हेडक्वार्टरले विभागीय कारबाहीसम्म गर्ला । प्रकाशचाँहि थुनामै छन् ।’
प्रहरीमा मन्त्रीका पिएको आतंक
गृहमन्त्री नारायणकाजी श्रेष्ठका पिए (पर्सनल असिस्टेन्ट) ले ‘वाहियात’ कुरा लिएर प्रहरीलाई दुःख दिन थालेको पाइएको छ । पिएहरू टाउकोमाथि नाच्न थालेपछि डिएसपीहरूको टोलीले अस्ति आइतबार बैठक राखेको स्रोतले बतायो ।
मन्त्रीको हवाला दिँदै पिएहरूले तनाव दिने क्रम बढेपछि वडा इञ्चार्जहरु आजित बनेका छन् । गृहमन्त्री श्रेष्ठको एक जना पिएले आफ्नो गलफ्रेण्डको ड्युटी समय मिलाइदिन भन्दै डिएसपीलाई फोन गरेपछि तहल्का मच्चिएको छ ।
‘हायात होटलमा आफ्नो केटीको ड्युटी मिलाइदिन भन्दै फोन गर्न थालेका छन् । पिएको गलफ्रेण्ड राति ड्युटी गर्छे रे, त्यसलाई दिँउसोको बनाइदिनुप¥यो रे ! प्रहरीले कसरी मिलाउने हो ? नचाहिँदो नचाहिँदो कुरामा फोन गर्दै दिमाग चाट्न थालेका छन्’, स्रोतले भन्यो । मन्त्रीले भन्दा धेरै आदेश पिएले दिन थालेपछि डिएसपीहरू रुष्ट बनेका छन् । पक्राउ परेकालाई ‘छिनमै छोड, छिनैमै थुन’ भन्दै हुकुम दिएर पिएले हैरान पार्न थालेको स्रोतले बतायो ।
टिप्पणीहरू