पूर्वराजाले पूर्वतिर छौंडा खेलाएको एमाले अध्यक्षको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा आफूमाथि भएको आक्रमण प्रयासको घटनामा पूर्वराजालाई दोष दिनुभएको छ ।
घटनालगत्तै सत्ता गठबन्धनका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाउनुभएका उहाँले आज राजावादीहरुको संलग्नता ठहर गर्नुभएको हो । पार्टी निकट अखिल नेपाल किसान महासंघले पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्नुभयो ।
‘हिजो, अस्ति तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईंहरुले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दा बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने कुराहरु गरे’, उहाँले अगाडि भन्नुभयो, ‘यसमा संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ ।’
आफूमाथि आक्रमण गर्ने योजनाअन्तर्गत दरबारियाहरुले भित्रै षड्यन्त्र गरेको बताउनुभएका अध्यक्ष ओलीले त्यसलाई छौंडा खेलाएको संज्ञा दिनुभयो । त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरु समेत ढुंगामुढामा उत्रिएको ओलीको आरोप छ ।
बैशाख १३ गते झापाको एउटा कार्यक्रममा सहभागी हुँदा ओली र सुवास नेम्वाङसहितका एमाले नेतामाथि ’कोशी’ प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्षले नाराबाजीसहित बाटो अवरोधको प्रयास गरेको थियो । एमाले नेताहरुले उक्त घटनामा सत्तारुढ दलका कार्यकर्ता संलग्न रहेको दाबी गर्दै आएका थिए ।
कोशी नामांकन सच्याउन माग गर्दै लामो समयदेखि आन्दोलनरत पहिचानवादीहरुले भने ओलीकै निर्देशनमा कोशी नाम राखिएकाले उनी सहभागी कार्यक्रममा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताउँदै आएका छन् । एमाले अध्यक्षमाथि कुनै आक्रमण नभएको उनीहरुको दाबी छ ।
टिप्पणीहरू