कम्बोडिया पुगेलगत्तै राष्ट्रिय सभा अध्यक्ष रातोघरको वार्तामा व्यस्त

कम्बोडिया पुगेलगत्तै राष्ट्रिय सभा अध्यक्ष रातोघरको वार्तामा व्यस्त

कम्बोडियाको भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समकक्षी समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट गर्नुभएको छ । आज दिउँसो सिनेट कार्यालय रातोघरमा अध्यक्ष तिमिल्सिनाले सिनेट अध्यक्ष सुमलाई भेट्नुभएको हो । भेटमा दुई देशबीचको पाँच दशक लामो दौत्य सम्बन्धको चर्चा भएको बताइएको छ । 

त्यसक्रममा अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कम्बोडियाले गरेको शान्ति, विकास र प्रगतिका लागि बधाई दिँदै नेपालले समेत सिक्नुपर्ने बताउनुभएको थियो । ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल–कम्बोडिया सिधा हवाई सेवा सुरू गर्नुपर्नेमा उहाँको जोड थियो । 

साथै, उहाँले व्यापार र पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनको विषय पनि उठाउनुभएको थियो । कम्बोडियन सिनेटका अध्यक्ष सुमले सन् १९६२ बाट सुरू भएको सम्बन्ध विभिन्न समयमा फरक फरक रूपमा प्रस्तुत भएको उल्लेख गर्दै दुई देशबीचको साझा हितका विषयमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको बुझिएको छ । 

त्यसअघि अध्यक्ष तिमल्सिनालाई नोम्पेह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि उहाँको सम्मानमा कम्बोडियाको तल्लो सदन नेसनल एसेम्बलीका प्रथम उपाध्यक्ष केत्तिसेथाबिन्दित चिम येपले दिवाभोजको आयोजना गर्नुभएको थियो । त्यस अवसरमा दुईपक्षीय हित र अनुभव आदानप्रदानका विषयमा छलफल समेत भएको बताइएको छ । 

आजै एसियाली सांस्कृतिक परिषद्का अध्यक्षले अतिथिहरूको सम्मानमा आयोजना गर्न लागेको रात्रीभोजमा अध्यक्ष तिमिल्सिना सहभागी हुने कार्यक्रम छ । भोलि राजधानी नोम्पेहमा आयोजना हुने कम्बोडियाका प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी तथा वर्ल्ड फेलोसिप अफ बुद्धिष्टको संरक्षक (प्याट्रोन) को उपाधि प्रदान गर्ने कार्यक्रममा पनि उहाँको उपस्थिति रहने अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
 

टिप्पणीहरू