काँग्रेस क्षेत्रीय सचिवद्वारा पार्टी परित्याग

काँग्रेस क्षेत्रीय सचिवद्वारा पार्टी परित्याग

नेपाली काँग्रेस पर्वत प्रदेशसभा (ख) क्षेत्रीय सचिव ठाकुर रसाईलीले पार्टी त्यागेका छन् । 

१४ औं महाधिवेशनबाट क्षेत्रीय सचिवमा निर्वाचित रसाईलीले आज काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । विज्ञप्ति जारी गर्दै उनले पछिल्ला दिनमा जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेकाले काँग्रेस परित्याग गरेको उल्लेख गरेका छन् ।

‘पछिल्लो दिनमा युवा पक्ति माझ विद्यमान भइरहेको चरम निराशा, पार्टी भित्रको गुटबन्दी तथा द्वन्द्वको रचनात्मक व्यवस्थापन र जनअपेक्षासहितका काम गरी आशा भरोसा दिलाउने सवालमा समेत जिम्मेवार पदमा रहेर पनि केही गर्न नसकिने अवस्था बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

लेखिएको छ, ‘यो परिस्थितिमा मेरो विगत, वर्तमान, भविष्य समेतको समीक्षा एंव मूल्याङ्कन गर्दा यही क्रम र गतिले म कुनै पद र भूमिकामा रहिरहन औचित्य नरहेको निष्कर्षका साथ आजैको मितिबाट सचिवको जिम्मेवारी, पार्टीको क्रियाशील र साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अवगत गराउँदछु ।’

टिप्पणीहरू