महमा मिसावट गर्ने उद्योग प्रहरीको कब्जामा, सञ्चालक समातिए

महमा मिसावट गर्ने उद्योग प्रहरीको कब्जामा, सञ्चालक समातिए

महमा अखाद्य वस्तु मिलाएर बेचेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका- २ का ५७ वर्षीय पवन सत्याललाई प्रहरीले कालोबजारी गरेको अभियोगमा समातेको हो । 

पवनले सञ्चालन गरेको गार्डेन अपिएरि उद्योगमा अखाद्य वस्तु मिसावट गरी उत्पादन गरिएका मह बजारमा छ्याप्छ्याप्ती भएको सूचनाका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएका प्रहरी टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।  

प्रहरीका अनुसार उद्योगको चेकजाँच गर्ने क्रममा तयारी मह करिब सात सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन बरामद गरिएको छ । 

त्यस्तै, पक्राउ परेका पवनमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू