शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तानिने, बादलका सुरक्षा सल्लाहकारमाथि प्रहरी हिरासतभित्र झण्डै मुक्का
सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउन रचिएको काण्डका मतियारहरु धमाधम पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई हिजो पक्राउ परेपछि आज पूर्व गृह तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे प्रहरी नियन्त्रणमा पुगेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतमा पुर्याएर म्याद थपसमेत गरिएको छ ।
एमाले सचिव तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र बादलका छोरा प्रतिक थापाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले पुर्जीसँगै उनीहरुको खोजी आजै दिउँसोदेखि थालेको बताइएको छ । हिजो भैरहवा हुँदै गृहजिल्ला अर्घाखाँची गएका रायमाझी आज त्यहाँको एउटा विद्यालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै उपस्थित भएका हुन् ।
पीडितहरुसँग १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेर नक्कली शरणार्थीको हैसियतमा अमेरिका पठाउने खेलमा राजनीतिक र प्रशासनिक नेतृत्वका कतिपय पात्रहरु संलग्न भएको विवरण सार्वजनिक हुँदै गएको छ । यसअघि पीडितहरुले दिएको निवेदनको आधारमा उक्त गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, सन्देश शर्मा पोखरेल, टंक गुरुङ पक्राउ परिसकेका छन् ।
बैशाख पहिलो साता पक्राउ परेका ती पाँचै जनाको प्रारम्भिक बयानको आधारमा तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई हिजो उनकै घरबाट पक्राउ गरिएको थियो । राईसँग हिजो काठमाडौं प्रहरी परिसर, टेकूले प्रारम्भिक बयान लिने क्रममा आरोप अस्वीकार गरेको बताइन्छ ।
हिरासतमा रहेका दुलाल, भण्डारी, थुलुङ राई, पोखरेल र टंक गुरुङले इन्द्रजितलगायतको ग्राण्ड डिजाइनमा उक्त काण्ड रचिएको बताएपछि आज बिहान प्रहरी परिसरमा राईसहितलाई राखेर सामूहिक बयान लिइएको हो । बयानको क्रममा पाँचै जनाले लहरो तान्दा पहरो गर्जने शैलीमा भनेका छन्, ‘नक्कली शरणार्थी काण्डमा हामीलाई मात्रै फसाउने योजना बुनियो । इन्द्रजित, टेकनारायण, बादल र रायमाझीका छोराहरुको भूमिकामाथि अनुसन्धान गर्नुपर्दैन ? पैसा बुझ्ने उनीहरु हुन्, हामी माध्यम मात्रै हौं ।’
यता बादलका सुरक्षा सल्लाहकार राईले भने पटक पटक उक्त आरोप अस्वीकार गरेपछि हिरासतमा रहेका ती पाँचै जना उनीमाथि झम्टिएका थिए । बलिया प्रहरी जवानलाई धेरै संख्यामा राखिएकाले राई बालबाल जोगिएको स्रोतको दाबी छ । उनीहरुले इन्द्रजितमाथि मुड्की ताक्दै सबै कुरा खोल्न थालेपछि राईले अन्ततः कसूर स्वीकार्ने शैलीमा आफ्नो भनाइ राखेका हुन् ।
राईको भनाइ थियो, ‘शरणार्थी बनाएर उनीहरुलाई अमेरिका लैजाने नीतिगत व्यवस्थाको तर्जुमामा मेरो हस्ताक्षर कहाँ छ ? मेरो संलग्नता कसरी भयो ? नीतिगत व्यवस्था सल्लाहकारले गर्छ कि मन्त्रीले ? सचिवले टिप्पणी उठाउँछ कि मैले ?’ उनको आशय तत्कालीन मन्त्री रामबहादुर थापा बादलले गरेको नीतिगत व्यवस्थामा सचिव पाण्डेलगायतको संलग्नतातर्फ इंगित भएको सहजै अनुमान लगाउन सकिन्छ ।
तर, आफू चोखो रहेको बताइरहँदा नजिकै रहेका ती पाँच जना उनीमाथि पटक पटक खनिएका हुन् । एक जनाले भनेका थिए, ‘त्यतिबेला सबैतिर मिलाउँछु भन्दै खनखनी गन्दै बिटा बिटाका नोट बुझ्ने को हो ? चेक बुझ्ने टोपबहादुर र बादलको छोराको जिम्मा लिने काे हो ? अहिले आएर आफू साखुल्ले बन्दै हामीलाई मात्रै थुनाउने ?’
प्रहरीका अनुसार हालसम्म बयान लिइएका सबैले नक्कली शरणार्थी काण्ड नीतिगत निर्णयका उपज भन्दै पन्छिन थालेकाले तत्कालीन गृहमन्त्री बादलतर्फ पनि अनुसन्धान तेर्सिन थालेको हो । नेपाल सरकार, संयुक्त राष्ट्र संघ, राष्ट्रसंघीय शरणार्थी संगठन, अमेरिका, भुटानलगायतको सहमतिमा भुटानबाट तीन दशकअघि खेदिएका शरणार्थीको विभिन्न मुलुकमा व्यवस्थापन गरिएको थियो ।
उक्त विषय नेपालको आन्तरिक मामिला मात्रै नभएको सन्दर्भमा जोडिएको पछिलो काण्ड, तत्कालीन गृहमन्त्री, ऊर्जामन्त्री, विभिन्न दलका नेता तथा पूर्वमन्त्रीका सचिवालय सदस्यलगायतको मिलेमतोमा भएको अरबौं ठगीको विषयले मुलुकको छबिमा कहिल्यै नमेटिने धब्बा लागेको छ । सर्वसाधारणसँग मोटो रकम लिएर नक्कली शरणार्थी बनाउन गृह मन्त्रालयमा तयार पारिएको नीतिगत व्यवस्थालाई मोरङ र झापाका सिडियो कार्यालयमासमेत मन्त्रीस्तरीय निर्णय भनेर पठाइनुले बादलको संलग्नताको विषय बलियो हुँदै गएको हो ।
टिप्पणीहरू