‘प्रमाण’ बिना आरजुलाई कसरी बनाउनु पम्फादेवी ?

‘प्रमाण’ बिना आरजुलाई कसरी बनाउनु पम्फादेवी ?

– राजेश मिश्र 
सन् १७८९ मा फ्रान्स अभूतपूर्व अनिकालमा थियो । अन्तिम राजा लुई सोह्रौं गद्दीमा थिए । दरबारियाहरू राजाकहाँ जनताले पाउरोटी खान नपाएको समाचार लिएर आउँथे । महारानी मेरी एण्टोनेटलाई यी कुरा सुन्दा सुन्दा दिक्क लागिसकेको थियो । उनले एकदिन एउटा यस्तै सन्देशवाहकलाई हप्काइन् रे, ‘पाउरोटी छैन भने केक खान सक्दैनन् तिनीहरू ?’ महारानीले साँच्चै यसो भनेकी हुन् वा यो केवल एक किंवदन्ती हो भन्नेमा विवाद छ । तर आज दुई सय चौंतिस वर्षपछि पनि यो वाक्य जनताको मर्काप्रति निस्पृह आफ्नो बिलाशमा मस्त शासकको परिचय दिन प्रचलित छ । 

आमनेपाली जनताका लागि आरजू राणा देउवाको वजन राजनीतिक, आर्थिक र सामाजिक शक्ति व्यवहारको तराजुमा मेरी एण्टोनेटको भन्दा कम छैन । तर उनी मेरी एण्टोनेटजस्तो जनताबाट टाढिएकी अनपढ दरवारिया महिला होइनन् । यसपटक सावित गरिन्, उनीसँग प्रतिकूलतालाई अनुकूलतामा बदल्ने क्षमता छ । सन्दर्भ नक्कली भुटानी शरणार्थी प्रकरण वा ‘भुटानगेट’ को हो । 

यो प्रकरणमा बिचौलिया गिरोहले आरजू र मञ्जु खाँणलाई आठ करोड दिएको फोनवार्ता बाहिर आएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नीको फोन बन्द छ । पति अनुसन्धानका लागि प्रहरी हिरासतमा पुगेपछि सांसदसमेत रहेकी पत्नी संसद्को बजेट अधिवेशन चलिरहेको बेला बेपत्ता छिन् । तर, शेरबहादुर देउवापत्नी आरजूको ‘प्रो एक्टिभ’ शैलीमा विष्मयकारी बढोत्तरी भएको छ । आक्रामक हुनु सबैभन्दा प्रभावकारी रक्षात्मक रणनीति हो । अहिले आरजू जुन रूपले टेलिभिजनका पर्दामा प्रस्तुत हुँदै छिन्, यसबाट अनुमान लगाउन सकिन्छ, यो प्रकरणमा आफूलाई लागेको आरोपलाई ह्याकुलाले मिचेर निराधार तुल्याउन सकिने कुरामा उनी विश्वस्त छिन् । कुनै दुई व्यक्तिले कसैको नाम लिएर कुरा गर्दैमा त्यो प्रमाण नहुन सक्छ । अन्य प्रमाण जुटाउन प्रहरीसँग समय छैन । प्रमाणबिना आरजूको नामलाई ‘पम्फादेवी’ तुल्याउन मिल्दैन । 

आरजूका अन्तर्वार्ताहरूले दिएको सन्देश हो, उनी यो भुटानगेट लफडासँग आत्तिएकी छैनन् । श्रीमान् देउवा अत्तालिएका छन् भने त्यो उनको कुरा हो । कोटरीका सदस्यहरूको ‘भाउजू’ हुनुबाहेक देउवाको दैलोमा दाम चढाउने आमकांग्रेसी कार्यकर्ताका लागि उनी ‘आरजू महारानी’ पनि हुन् । उनले अन्तर्वार्ताहरूमा स्पष्ट भनेकी छन्, शेरबहादुर ‘ढाक्रे’ हुन्, अहिले देखिएको सम्पत्ति उनको माइतीले दिएको पेवा हो । ‘म पनि जुद्धसमशेरकी नातिनी हुँ । हिङ नभए पनि हिङ बाँधेको टालो छ ।’ आरजूले अहिले टेलिभिजनमा आफ्नो कुरा राख्न पाएको मौकाको भरमग्दुर उपयोग गर्दै दुईवटा भाष्य स्थापित गर्न खोजेकी छन् । पहिलो, मिडिया ‘फेक’ हो । दोस्रो, महिला अगाडि बढेको पुरुषहरू देख्न सक्दैनन् । 

आफ्ना काम कारबाहीका चर्चाले सरकार र पार्टीको परिधि नाघेर सामाजिक जीवनमा असर पार्न थालेपछि मिडियाकर्मी चलायमान हुनु स्वाभाविक हो । मिडियामा आउने नकारात्मक कथाले व्यक्तिको राजनीतिक महत्वाकांक्षामा तगारो हाल्न सक्छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअगाडि नै डोनाल्ड ट्रम्पले यसको लख काटिसकेका थिए । त्यसैले उनले ‘फेक मिडिया’ अथवा गलत वा पूर्वाग्रही सञ्चारकर्मको भाष्य निर्माण गरे । मिडियाले सधैँ उनको नकारात्मक र झुटो प्रचार गर्छ भन्ने वैकल्पिक तथ्य स्थापित भएपछि समर्थकहरू आफै मिडियाको विश्वसनीयतामा शंका गर्न र मूलप्रवाहका सञ्चारमाध्यमले दिएका समाचारको सामाजिक सञ्जालमार्फत प्रतिकार गर्न थाल्छन् । 

नागरिकतामा देखिएको अनियमितताका कारण अचानक हस्तिनापुरको गद्दीबाट झरेर चपरीमुनिको बासमा पुगेका रास्वपाका रवि लामिछानेले पनि ठीक यस्तै १२ भाइ नामको भाष्यमार्फत आफ्ना समर्थकहरू माथिको पकड जोगाएका हुन् । आरजू राणा देउवाको अहिलेको रणनीति पनि यही हो । आरजूको अर्को दाबी छ, नेपाली समाज ‘मिसोजिनिक’ अर्थात् पुरुष प्रधान हो र यो कुरा उनको आफ्नै पार्टी नेपाली कांग्रेसमा अझै बढी लागू हुन्छ । उनले हिजोआज बारम्बार दोहोर्‍याउने गरेको कथन हो, ‘उनी कुनै पुरुषभन्दा कम छैनन् ।’ यसमा दुईमत छैन । सेन्ट मेरिज स्कूल, भारतीय सम्भ्रान्तका सन्तान पढ्ने कन्भेन्ट स्कूल र पञ्जाब विश्वविद्यालयबाट पिएचडी गर्ने पुरुष नेपाली कांग्रेस मात्र होइन, नेपाली राजनीतिमै छैनन् । 

तर, आरजू आफ्नै सामथ्र्यले नेपाली कांग्रेसको राजनीतिमा स्थापित भएकी हुन् भन्ने उनको दाबी कमजोर प्रतित हुन्छ । नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले तत्कालीन गृहमन्त्री शेरबहादुर देउवासँग भेट गराउनुअघि उनको सामाजिक हैसियत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने एक सम्भ्रान्त अविवाहित महिलाबाहेक अरु केही थिएन । कांग्रेसका दिवंगत नेता कृष्णप्रसाद भट्टराईले देउवाको बिहेकै दिन आरजूलाई भनेका थिए, ‘शेरबहादुर हिजोसम्म हाम्रा थिए, आजबाट तपाईंका भए ।’ नभन्दै गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको अवसानपछि आफ्ना पटके प्रधानमन्त्री पतिमार्फत आरजूको राजनीतिक तारा चम्किन थालेको तथ्य कसैबाट लुकेको छैन । तर, आफूलाई मिडियामा ‘फेमिनिष्ट’ (महिलावादी)का रूपमा प्रस्तुत गर्दै पुरुषहरूको विरोध गर्दा आधा आकाशलाई प्रभावित गर्न सकिन्छ । ‘नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई सफल पार्ने सपना’ सहित ‘परिआएमा नेपाली कांग्रेसको नेतृत्व नै गर्ने’ उनको हालैको सन्देश अर्थपूर्ण छ । 

भुटानगेट प्रकरणमा नेपाली कांग्रेसबाट मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण सर्वेसर्वा नभएर दम दिँदा चल्ने चाइनिज खेलौना मात्र थिए भन्ने कुरामा कांग्रेसजन विश्वस्त छन् । यसै सन्दर्भमा उकेरा अनलाइनमा आएको पूर्वप्रहरी नायब महनिरीक्षक हेमन्त मल्लको संस्मरण सान्दर्भिक हुन आउँछ । आफ्नो संस्मरणको धारावाहिक शृंखलामध्ये कुनै एकमा उनले भनेका छन्, ‘बहालवाला प्रहरी महानिरीक्षक प्रधानमन्त्री भेट्न बालुवाटार जाँदा प्रधानमन्त्रीपत्नी पनि सँगै थिइन् । उनले बीचैमा कुरा काटेर भनिन्, ‘तपाईंलाई थाहा छ आइजी साब ? अहिलेको गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि !’ यहाँ या ती आइजी साब’ले कुरा बनाएर भनेको हुनुपोर्‍य। अथवा हेमन्त मल्लले । तर त्यो तहका व्यावसायिक प्रहरी अधिकारीहरूले यस्तो कुरा नभई बोल्दैनन् भनी विश्वास गर्ने आधार छ । 

भुटानगेट प्रकरण ०७६ देखि शुरु भएको हो । यसबीच नेपालमा तीन जना प्रधानमन्त्री फेरिए । शुरुका प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य पतिको राजनीतिमा उतिधेरै हस्तक्षेप गर्दिनन् । उनलाई आफ्ना पतिका साला–सालीलाई राजदूत, मेयर वा स्वकीय सचिव बनाइदिए चित्त बुझ्छ । अहिलेकै प्रधानमन्त्री पुष्पकमल दाहाल भनुँ भने उनकी पत्नी सीता रोगले थलिएर बोल्नै नसक्ने अवस्थामा छिन् । बाँकी रहे शेरबहादुर देउवा । अब, एउटा सामान्य मान्छेले पनि दुई र दुई जोडेर चार बनाउन सक्छ । ती प्रधानमन्त्री पत्नी आरजूबाहेक अरु को हुन सक्छ ? 

तर, प्रमाण छैन । यद्यपि, राजधानीमा वडास्तरका प्रहरी कार्यालयको प्रमुख नियुक्त गर्दासमेत देउवाका भतिज भानु देउवामार्फत आरजूको दबाब आउने गरेको कुरा बहालवाला प्रहरी अधिकारीहरूलाई थाहा छ । अहिले खोरमा परेका गृहसचिव पाण्डे बालकृष्णको बालहठले मात्र गृहमा पुर्‍याइएका होइनन् । आरजू राणा देउवा स्तरका पढेलेखेका र सक्षम मान्छेहरू प्रमाण छाडेर काम गर्दैनन् । यो स्तरका मान्छेका लागि विनोद चौधरीजस्ता डलर अर्बपति ब्यापारी सांसदले ‘साइड किक’ भएर काम गर्छन् । पैसा कता आउँछ, कता गएर जम्मा हुन्छ, त्यो आरजूजस्ताको चिन्ताको विषय होइन । 

अब के होला ? 

भुटानगेट काण्डमा थुनिएकाहरूलाई अभियुक्तका रूपमा दर्ता गरेर अदालतमा बुझाउन प्रहरीसँग अब धेरै समय छैन । अन्तिममा समातिएका एमालेसचिव टोपबहादुर रायमाझीबाहेक बाँकीको हिरासतमा राख्ने अन्तिम म्याद अब समाप्त हुन्छ । अनुसन्धान पूरा नगरी हतारमा बनाएको मुद्दा स्वाभाविक रूपले कमजोर हुन्छ । प्रधानमन्त्री प्रचण्डलाई एकातिर भ्रष्टाचारमाथि प्रहार गरेको लोकरञ्जनको घाम ताप्ने लोभ छ, अर्कोतिर बढी उत्साहित हुँदा सरकार नै ढल्ने त्रास । कांग्रेसका बालकृष्ण खाँण र आरजूको मात्र कुरा छैन । एमालेका सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओली पनि यसमा गाँसिएका छन् । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई बादलको नभई, ओलीको छनोटमा त्यहाँ पुगेका हुन् । भुटानगेट प्रकरण बढेर बादल र टोपबहादुर रायमाझीको नाकसम्म पानी पुगिसकेको कुरा ओलीलाई थाहा थियो । नेकपा विभाजन हुँदा बादल र रायमाझीलाई आफ्नो पकडमा राख्न ओलीले यसै भुटानगेट प्रकरणलाई अस्त्र बनाएको कुरा दुवै दलका शीर्ष नेताहरूलाई थाहा छ । 

ओलीले गिरोहको बिचौलियामध्येका एक सानुराम भण्डारीसँग आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यमार्फत ६ पटक भेटेको कुरा पनि प्रहरीको जानकारीमा छ । देउवा, प्रचण्ड र ओलीबीच ‘प्रहरी अनुसन्धानमा हस्तक्षेप नगर्ने’ सहमति भएको कुरा बाहिर आए पनि भित्रभित्रै तीनै नेता ‘सर्प मर्ने, लठ्ठी पनि नभाँचिने‘ सूत्र पत्ता लगाउन सक्रिय रहेको अड्कल लगाउन गाह्रो छैन । विभिन्न बहानामा यी तीन नेताबीच बाक्लिएको भेटघाटले यसै भन्छ । सबै दलका नेताको गोप्य सिण्डिकेट छ र नीतिगत भ्रष्टाचारको कुरा आउँदा स्वतः सर्वदलीय सहमति कायम हुन्छ भन्ने कुरा एकपल्ट फेरि प्रमाणित भएको छ । 

आरजूले अन्तर्वार्तामै ‘त्यो गृहसचिव फटाहा रहेछ’, भनेको अभिलेख छ । उनको लेनदेन नभए सचिव फटाहा भएको कुरा प्रधानमन्त्री पत्नीलाई किन चासोको कुरा भयो? उनले बालकृष्ण खाँणलाई ‘असल मान्छे’ भनेकी छन् । यसभित्रको अर्थ खोजिनु आवश्यक छ । प्रचण्ड, देउवा र ओलीको सामूहिक स्वार्थ बिचौलिया र कर्मचारीलाई थुनिदिने तर खाँण र रायमाझीलाई मुद्दा कमजोर बनाएर अदालतबाट छुटाउने कुरामा मिलेको देखिन्छ । आरजू र मञ्जुले ‘अडियोमा बोलिएको कुरा प्रमाणका रूपमा स्थापित हुन नसकेको’ आधारमा उन्मुक्ति पाउने सम्भावना बढेको बुझ्न सकिन्छ । मुद्दाको सुरक्षित अवतरण गराउन तत्कालीन गृहमन्त्री रामबहादुर थापा, सचिव प्रेम राईलगायतलाई ‘नीतिगत निर्णयमा भ्रष्टाचार गरेको’ आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा हालेर आँखामा छारो हाल्ने कुरा अर्को विकल्प हुन सक्छ । 

तर, आरजूको हुंकार भन्दै छ, भित्रभित्रै कुरा मिलिसक्यो । ०४५ सालतिर पञ्चायतको अन्त्यकालमा नेपालमा असंवैधानिक शक्ति केन्द्रका रूपमा पेटिकोटको व्यापक प्रभाव थियो । ३५ वर्षपछि अहिले फेरि पेटिकोट स्वार्थले मुलुक गाँजेको छ । स्वतन्त्र सांसद भूतपूर्व कांग्रेसी अमरेशकुमार सिंहले ‘पम्फादेवी’को लाश त्यसै उखेलेर संसदमा पु¥याएका होइनन् । पम्फादेवीको पेटिकोटले पञ्चायत उडायो । अहिलेको पेटिकोटको हावाले के उडाउँछ, यो एक रोचक तर गम्भीर प्रतीक्षाको विषय हो । 
 

टिप्पणीहरू