पत्रकार महासंघको जिल्ला शाखालाई ‘भोट बैंक’ बनाइएको आरोप
नेपाल पत्रकार महासंघ, बाँकेले १३ जना सदस्य थपेपछि विभिन्न पत्रकारसम्बद्ध संघसंस्थाले विरोध जनाएका छन् । हाल कायम सदस्य संख्याभन्दा धेरै हुनेगरी १३ जना सदस्य थपिएपछि उनीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
बाँकेका प्रेस युनियन, प्रेस चौतारी, प्रगतिशील पत्रकार संघ, समाजवादी प्रेस संगठनले आज संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै यसअघिको साधारणसभाले पारित गरेको तीन सय २३ जना सदस्यहरुको नामावली मात्र सार्वजनिक गर्न माग गरेको छ ।
काठमाडौंका एसोसिएट शाखाबाट नियोजित ढंगले हुलका हुल सदस्य बाँके शाखामा स्थानान्तरण गरेको उल्लेख गर्दै उनीहरुले जिल्ला शाखालाई ‘भोट बैंक’ नबनाउन आग्रह गरेका हुन् ।
पत्रमा भनिएको छ, ‘काठमाडौंका एसोसिएट शाखामा गैरपत्रकारलाई सहज तरिकाले सदस्यता दिने र एकमुष्ठ रुपमा उनीहरुलाई जिल्ला शाखामा स्थानान्तरण गरेर महासंघ जिल्ला शाखालाई ‘भोट बैंक’ बनाउनेजस्ता गतिविधिलाई प्रोत्साहित नगर्न आह्वान गर्दछौं ।’
बाँके शाखाले ती सदस्यलाई अस्वीकार गर्दागर्दै पनि केन्द्र र प्रदेश समितिले जबरजस्ती थुपार्ने काम गरिरहेको उनीहरुको ठहर छ । मुलुकभर उत्साहजनक तरिकाले सदस्यता शुद्धिकरण अभियान सञ्चालन भइरहेको स्मरण गराउँदै उनीहरुले केन्द्रका सदस्य जिल्लामा नपठाउन अनुरोध गरेका छन् ।
टिप्पणीहरू