पूर्व माओवादीका भट्टले पपुलर मत पाउँदा ओलीका विश्वासपात्र पराजित

पूर्व माओवादीका भट्टले पपुलर मत पाउँदा ओलीका विश्वासपात्र पराजित

नेकपा एमालेको उपमहासचिवमा केपी शर्मा ओलीका विश्वासपात्र विष्णुप्रसाद रिमाल पराजित भएका छन् । 

१९ पदाधिकारीमध्ये अध्यक्षसहित १७ जना ओली प्यानलबाट निर्वाचित हुँदा रिमालले भने जित दर्ता गर्न सकेनन् । तीन जना निर्वाचित हुने उपमहासचिव पदमा उनी चौंथो स्थानमा रहे । 

उपमहासचिवमा पूर्वमाओवादी नेता लेखराजले भट्ट सबैभन्दा बढी भोट पाएका छन् । ओली प्यानलका उनले १४ सय ५२ मत ल्याए । 

ओली समूहकै रघुवीर महासेठ दोस्रो बढी मतसहित विजयी हुँदा ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई तेस्रो हुँदै उपमहासचिव चुनिए । यी दुईले क्रमश: १३ सय ६८ र १३ सय ४८ मत पाए । 

माओवादीबाट आएका लेखराज र ईश्वर प्यानलका योगेशको भन्दा कम मत पाएका रिमाललाई जम्मा १ हजार ९१ भोट पर्यो । 

अहिलेसम्म भूगोलको राजनीति नगरेका रिमाल ओलीका अति विश्वासपात्रका रूपमा चिनिन्छन् । ओली तीनचोटि प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका उनी दशौँ महाधिवेशनमा प्रतिष्पर्धाबिनै उपमहासचिव चुनिएका थिए । 

यसपटक ओली प्यानलबाट सोही पदमा उठेका उनी भारी मतले पराजित भएका हुन् । रिमालले ओलीलाई गलत सल्लाह दिएकै कारण भदौ २३ र २४ को घटना घटेको अधिकांश एमालेजनको बुझाई देखिन्छ । 

यहि बुझाइका कारण ओली प्यानलका अधिकांश निर्वाचित हुँदा रिमाल पराजित हुनुपरेको एमाले कार्यकर्ता बताउँछन् ।

 

टिप्पणीहरू