नक्कली शरणार्थी प्रकरणको कारबाहीमा दायाँबायाँ नगर्न सरकारलाई आग्रह

नक्कली शरणार्थी प्रकरणको कारबाहीमा दायाँबायाँ नगर्न सरकारलाई आग्रह

सर्वसाधारण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन बुनिएको मानव बेचबिखन र भ्रष्टाचारका योजनाविरुद्ध नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले ज्ञापनपत्र बुझाएको छ । 

नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत सुजनी रानामार्फत् मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको ज्ञापन पत्र बुझाएको बताइएको छ ।

मञ्चका कुवेत अध्यक्ष युवराज गैरेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दालाई सार्थक निष्कर्षमा पुर्याउन खबरदारी र दबाबको भूमिका हुनुपर्ने जिम्मेवारीको बोध गर्न आग्रह गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउनु सुखद परिघटना भएको उल्लेख छ । घटनाको प्रकृतिले उक्त कार्य आर्थिक अनियमितता मात्रै नभएर मानव तस्करी र राज्यविरुद्धको जघन्य अपराध रहेको मञ्चको ठहर छ ।

घटनामा संलग्नलाई कानूनी दायरामा ल्याएर विधिको शासन र कानुनी राज स्थापित गर्न मञ्चको तर्फबाट जोडदार मागसहित ज्ञापन पत्रमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाली दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउन मञ्चका अध्यक्ष युवराज गैरे, वरिष्ठ उपाध्यक्ष मनवीर लामा, महासचिव देभ्सम्शेर घिसिङ, उपमहासचिव इन्द्रदेव शर्मा, प्रवक्ता टिका पौडेल, सल्लाहकारहरू सूर्य लामा, धनेश्वर राय यादवलगायत पुगेका थिए ।

टिप्पणीहरू