लडाकू शिविरमा घोटाला नभएको दावी,नक्कली शरणार्थी प्रकरणको काउण्टर ?

लडाकू शिविरमा घोटाला नभएको दावी,नक्कली शरणार्थी प्रकरणको काउण्टर ?

नेकपा माओवादी केन्द्रले नक्कली शरणार्थी प्रकरण बाहिर आएपछि आफ्नो पार्टीलाई बदनाम गर्न लडाकू शिविरको विषय योजनावद्ध रुपमा उछालिएको आरोप लगाएको छ । 

आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि एमालेले लडाकू शिविरको कुरा उठाएको बताए । त्यस क्रममा उनले शरणार्थी प्रकरणमा दोषी ठहरिए जोसुकैलाई पनि कारवाही गर्न सरकार तयार रहेको पनि प्रतिवद्धता जनाए ।

पूर्वसभामुखसमेत रहेका महराले लडाकू शिविरमा कुनै घोटाला नभएको पनि प्रष्ट पारेका छन् । झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनको राज्यले जिम्मा लिएकाले अनियमितता नभएको उनको दाबी छ । 

यसका दुई वटा पक्ष रहेको उल्लेख गर्दै उनले ५ महिना शान्ति प्रक्रियालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेश्की लिएको र त्यसको अडिट भैसकेको बताएका छन् । शान्ति प्रक्रियाको यथार्थ र विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै उक्त रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति र शान्ति तथा पुननिर्माण मन्त्रालयले गरेको सिफारिसअनुसार महालेखा परीक्षकको कार्यालयले फर्छौयट गरिसकेको महराको भनाई छ । 

साथै, महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन २०६९ पेजनं. २५९ अनुसार उक्त बेरुजुको समपरीक्षण सार्वजनिक भएको पनि उनले जनाएका छन् । 

प्रवक्ता महराले ७ मुख्य शिविर र २१ सहायक शिविरमा रहेका लडाकुलाई शिविर व्यवस्थापन कार्यालयमार्फत रकम भुक्तानी भएको पनि जानकारी गराए ।

टिप्पणीहरू