माओवादी सांसदले पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भनेपछि एमालेद्वारा सदनमा अवरोध

माओवादी सांसदले पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भनेपछि एमालेद्वारा सदनमा अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रोष्टम घेरेर नाराबाजी गरेपछि आज बसेको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आफ्नो पार्टीका अध्यक्षलाई भ्रष्टाचारी भनेको भन्दै एमाले सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोक्नुभएको हो । 

बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका संसदीय दलका उपनेता सुवास नेम्वाङ र सचेतक पदम गिरीले आफ्ना अध्यक्षलाई निराधार आरोप लगाइएको दाबी गर्दै सरकारले जवाफ नदिएसम्म सदन चलन नदिने अडान राखे ।

यसअघि पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनि पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भ्रष्टाचार गरेको संसदमा आरोप लागेको थियो । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको संसद बैठकमा उक्त कुरा उठाएका थिए ।  त्यसैको विरोधमा उत्रिएका एमाले सांसदहरुले लगातार नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको हो ।

टिप्पणीहरू