चिनियाँ उद्यमीहरुको भेलामा लगानी र समृद्धिका कुरा
चीनको सिछ्वान प्रान्तका उद्यमीहरुले काठमाडौंमा भेटघाट र छलफल गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सिछ्वान प्रान्तीय कमिटीका सचिव वाङ सियाओहुई र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको भेलामा दुई मुलुकबीच कायम रहेकोे आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धबारे छलफल भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चीन नेपालको असल छिमेकी मुलुक रहेकाले नेपालले सँधै दुवै मुलुकको समान हित र चासोलाई सम्बोधन गर्दै आएको उल्लेख गर्नुभयो । चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको उपयुक्त वातावरण रहेको सन्दर्भ पनि उहाँले बताउनुभएको छ ।
सचिव वाङले नेपालको विकास र समृद्धिमा थप सहयोग गर्न चीन र चिनियाँ कम्युनिष्ट पार्टी सँधै तत्पर रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हामी निकट छिमेकी हौं । सिछ्वान नेपालबाट झन् नजिक छ ।’
त्यसैगरी चिनियाँ दूतावासका उपप्रमुख वाङ सिनले पनि नेपालमा थप लगानी गर्न चिनियाँ लगानीकताहरु तयार रहेको धारणा राख्नुभएको थियो । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र पहिलो ठूलो लगानीकर्ता मुलुक हो ।
भेलाअघि सिछ्वान प्रान्त र छन्दुको विकास, वातावरण र जनजीवनसँग सम्बन्धित फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो ।
टिप्पणीहरू