ग्राहकको गोप्यता भंग हुँदैन : नेपाल टेलिकम

ग्राहकको गोप्यता भंग हुँदैन : नेपाल टेलिकम

नेपाल टेलिकमले ग्राहकको गोपनियताको सुरक्षामाथि एकरत्ति पनि सम्झौता हुन नदिने प्रतिबद्धता जनाएको छ । टेलिकमले ग्राहकको गोपनियतालाई सँधै सम्मान गर्ने र त्यसको सुरक्षामा अलिकति पनि सम्झौता हुन नदिने दाबी गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले एउटा न्यूज पोर्टलले टेलिकमका ग्राहकको व्यक्तिगत जानकारीको सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशन गरेको समाचारले ध्यानाकर्षण गराएको बताएका छन् ।

उनले राज्यका अधिकारप्राप्त निकायबाट हुने अनुसन्धानको प्रक्रियामा प्रचलित कानुनबमोजिम अदालतको आदेशपछि मात्र कम्पनीले विवरण उपलब्ध गराउनेबारे प्रष्ट पारेका हुन् । कम्पनीका सबै सेवाहरु अत्यन्त भरपर्दो भएको उल्लेख गर्दै उनले सबै ग्राहकलाई निर्धक्क भएर सेवा प्रयोग गर्न आग्रह गरेका छन् । 

जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुनबमोजिम अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुलेझैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ ।’ त्यसैगरी कम्पनीका सेवालाई भरपर्दो र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न आफुहरु अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै उनले कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नु सबैमा अनुरोध गरेका हुन् ।

टिप्पणीहरू