केपी ओलीले दुई घण्टा बोलेपछि संसदका कुर्सी खालि

केपी ओलीले दुई घण्टा बोलेपछि संसदका कुर्सी खालि

आर्थिक वर्ष २०८०–०८१ को आय–व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि प्रतिनिधिसभामा छलफल चलिरहेको छ । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफलको कार्यसूची थियो । सोहीअनुसार प्रमुख प्रतिपक्ष दलका नेतादेखि संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले पालैपालो छलफलमा भाग लिए । 

तर, बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा उक्लिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली एक्लैले दुई घण्टा लामो भाषण गरेपछि आजको बैठक राजनीतिक दलको चुनावी आमसभा जस्तो देखियो । आमसभामा मुख्य वक्ताले बोलिसकेपछि सहभागीहरु तितरबितर भएजस्तै बैठकको उत्तराद्र्घमा आइपुग्दा संसदका कुर्सीहरु लगभग खालि भएका थिए । 

आज बैठकको शुरुमा सांसदहरुले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर भएको विषयमा अर्थमन्त्रीको जवाफ मागेका थिए । अर्थमन्त्री महतले त्यसमा आफ्नो स्पष्टिकरण पनि दिनुभयो । त्यसपछि छलफल प्रारम्भ भएसँगै  सभामुख देवराज घिमिरेले ओलीलाई बोल्न समय दिनुभयो । 

भाषण गर्न थालेपछि समय गएको पत्तै नपाउने ओलीले नीति तथा कार्यक्रममाथिको टिप्पणीका बेलाजस्तै लामो प्रवचन सुनाउनुभयो । अर्थमन्त्रीले करिब तीन घण्टामा प्रस्तुत गरेको बजेटमाथि उहाँले १ घण्टा ५९ मीनेट लामो टिप्पणी गर्दा सत्तापक्षका मात्र नभई एमालेकै सांसदहरु ‘इरिटेड’ देखिन्थे । कोही हाइ काढिरहेका थिए भने कोही आफ्नै धुनमा देखिन्थे । 

अन्ततः ओलीले आफ्नो मन्तव्य अन्त्य गर्नुभयो । त्यसलगत्तै रोष्ट्रममा पुगेका कांग्रेस सांसद विमलेन्द्र निधिले लामो टिप्पणी गरेको भन्दै ओलीमाथि  व्यंग्यसमेत गर्नुभयो । ओली बोलिरहँदा एमालेकै सांसदहरुले हाई काढेको र ढ्यापढ्याप गर्न बिर्सेको भन्दै निधिले कटाक्ष गर्नुभएको हो । 

पार्टीको बैठकमा जसरी दुई घण्टा प्रवचन सुनाउनुभएका ओली स्वयम् बैठकको अन्तिमसम्म बस्नुभएन । बैठकको अन्त्यतिर रास्वपाका केही सांसदमात्रै कुर्सीमा बसिरहेका थिए ।

टिप्पणीहरू