प्रलोभन माल्टा र अमेरिकाको, बिजोग सर्वसाधारणको

प्रलोभन माल्टा र अमेरिकाको, बिजोग सर्वसाधारणको

आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र ३४ वर्षका प्रविन खड्कालाई पक्राउ गरेको जनाएको छ ।

उदयपुर घर भई हाल ललितपुरको गोदावरी नगरपालिका १४ बस्ने सुनिताले अमेरिका पठाइदिने प्रलोभनमा ठगेकी थिइन् ।  प्रहरीका अनुसार मोबाइल कम्पनीमा मासिक साढे तीन लाख रुपैयाँ तलबमा काम लगाइदिने प्रलोभनमा ओमनाथ मैनालीबाट पटकपटक गरेर छ लाख २१ हजार रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई पुल्चोकबाट पक्राउ गरिएको हो । 

त्यस्तै, मुगु घर भई काठमाडौंको कंलकी बस्दै आएका प्रविनले माल्टा पठाइदिने प्रलोभनमा सर्वसाधारणबाट नौ लाख रुपैयाँ असुलेको खुलेको छ । माल्टाको प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिने भन्दै रकम उठाएपछि उनी पनि एकाएक बेपत्ता भएका हुन् । 

उनलाई आज कुलेश्वरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवै अभियुक्तलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू