प्रहरीले हजाराैं हतियारमा आगो लगायो
नेपाल प्रहरीले विभिन्न प्रकारका हजारौं हतियार नष्ट गरेको छ । विभिन्न मिति र स्थानबाट कानूनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक छ हजार १८९ थान नष्ट गरेको जनाएको छ ।
त्यसैगरी पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन १ थान र नाम नखुलेको १३ थान गरी कुल छ हजार २६८ थान हातहतियार नष्ट गरिएको हो ।
प्रहरी अतिरिक्त महानिरीक्षकसमेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय लैनचौर, स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौं महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको हो । उक्त हतियार नष्ट गरेपछि फलामलाई पत्रु बनाई कानूनबमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि कार्यदलको जिम्मा लगाइएको छ ।
उक्त हातहतियारहरू प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानूनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू