राजधानी दैनिक बन्द, पत्रकारहरुलाई राजीनामा दिन दबाब दिइदैँ

राजधानी दैनिक बन्द, पत्रकारहरुलाई राजीनामा दिन दबाब दिइदैँ

राजधानी दैनिक पत्रिका बन्द भएको छ । विगत २३ वर्षदेखि प्रकाशन हुदैँ आएको पत्रिका यही जेष्ठ २६ गतेदेखि बन्द भएको हो । 

नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले आज विज्ञप्ति जारी गर्दै पत्रिका बन्द भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले बिना सूचना प्रकाशन बन्द गरी पाठकको सूचना पाउने हकको हनन गरेको भन्दै तत्काल पत्रिका प्रकाशन सुचारु गर्न माग गरेका छन् । 

उनका अनुसार व्यवस्थापन पक्षले पत्रिका बन्द गरेर कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीलाई समेत राजीनामा एंव बिदामा बस्न दबाब दिदैँ आइरहेको छ ।  

साथै, पत्रिका छपाईका लागि कागज किन्ने विषयमा सञ्चालकहरुबीच विवाद भएपछि पत्रिका प्रकाशन नभएको भनिएपनि औपचारिक रुपमा कुनै जानकारी नगराएको उनको भनाइ छ । 

अध्यक्ष विश्वकर्माले व्यवस्थापनमा देखिएको किचलो चाँडोभन्दा चाँडो टुंग्याएर तत्काल पत्रिका प्रकाशन सुचारु गर्दै महासंघ र व्यवस्थापकीयबीच भएको सहमतिअनुसार नियमित तलब उपलब्ध गराउन माग राखेका छन् । 

त्यस्तै, पत्रिका प्रकाशनअवरुद्ध भएकोप्रति महासंघ केन्द्र, प्रतिष्ठान शाखा, नेपाल सरकार मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भिर रुपमा लिन अनुरोध गरिएको छ ।

 

टिप्पणीहरू