उजुरी लेख्न सिडिओ कार्यालयमा छुट्टै कर्मचारी
जिल्ला प्रशासन कार्यालय सर्लाहीले उजुरी लेख्न छुट्टै कर्मचारी खटाएको छ । कार्यालयले सेवाग्राहीको सहजताका लागि कर्मचारी खटाएर निःशुल्क उजुरी लेखिदिन थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार सेवाग्राहीले बाहिर ठाडो उजुरी लेखाउँदा ठगिएको तथा पाँच सयदेखि हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको हो ।
योसँगै प्रशासन कार्यालयले समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीबाटै निःशुल्क लेखिदिने व्यवस्था मिलाएको सहायक सिडिओ घिमिरेले बताएका छन् ।
सेवाग्राहीको सहजताका लागि प्रशासनले विभिन्न प्रयास गर्दै आएको बताउँदै उनले अब कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद, साँध–सीमाना मिचिएको, गालीगौलाजलगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले लेखापढी व्यवसायीलाई पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने जनाए ।
टिप्पणीहरू