भारतीय प्रधानमन्त्रीले वाशिंगटन जानुअघि न्यूयाेर्कमा याेगा गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी बुधबारदेखि अमेरिकाको औपचारिक भ्रमणमा जाँदै छन् । उनको भ्रमण न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरिने अन्तर्राष्ट्रिय योगा दिवसबाट औपचारिक शुरुवात हुने बताइएको छ ।
संयुक्त राष्ट्र संघले योगालाई सन् २०१४ देखि जुन २१ का दिन अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालेको हो । स्थानीय समयअनुसार प्रधानमन्त्री मोदी त्यहाँबाट लगत्तै राजधानी वाशिंगटन डिसी जाने कार्यक्रम छ ।
भोलिपल्ट ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनले मोदीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । त्यसअघि दिउँसो अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता र मोदीले अमेरिकी संसद कंग्रेसको संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भोलिपल्ट बिहीबार उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतीय प्रधानमन्त्रीलाई दिवाभोज आयोजना गर्नेछन् ।
अमेरिकाको भ्रमण सकाएर स्वदेश फर्कने क्रममा मोदी इजिप्टको राजकीय भ्रमणमा जाने कार्यक्रम छ । आगामी शनिबार र आइतबार इजिप्टको राजकीय भ्रमण तय भएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक इजिप्टको भ्रमण गर्न लागेका हुन् । यसअघि गत जनवरीमा भारतले आफ्नो गणतन्त्र दिवसमा इजिप्टका राष्ट्रपति अब्दुल फताह एल सिसीलाई प्रमुख अतिथि बनाएको थियो ।
टिप्पणीहरू