काठमाडौंका मेयरविरुद्ध मुद्दा दायर, १५ करोड क्षतिपूर्ति माग
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले काठमाडौं महानगरपालिका विरुद्ध उच्च अदातल पाटनमा रिट दायर गरेको छ । राजधानीको भृकुटीमण्डपमा जेठ ३० गते आयोजित शैक्षिक मेलामा रोक लगाएको विरोधमा हिसान १५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै अदालत पुगेको बताइएको छ ।
महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा भएको गैरकानुनी हस्तक्षेपपछि मेला बिथोलिएको आयोजकको भनाई छ । उनीहरुले कार्यक्रम बिथोलेर महानगरले गैरन्यायिक हस्तक्षेप गरेको आरोप लगाएका छन् । सभामुख देवराज घिमिरेले उद्घाटन गरेर फर्केको केही समयपछि महानगरका प्रहरी पुगेर कार्यक्रम सञ्चालनमा रोक लगाएका थिए ।
हिसानका अध्यक्ष रमेशकुमार सिलवालका अनुसार महानगरपालिकाले आफ्नो गल्तीबारे पहिले क्षमा माग्नुपर्ने र आयोजकलाई क्षतिपूर्ति वापत १५ करोड रुपैयाँ दिनुपर्ने मागदाबी गरिएको छ । महानगरले गरेको उक्त हस्तक्षेपको शैक्षिक क्षेत्रका अधिकांश संघ, संगठनले विरोध गर्दै आएका छन् ।
टिप्पणीहरू