केपी ओलीलाई उपेन्द्रको जवाफ : मोर्चासँग नतर्सिनु

केपी ओलीलाई उपेन्द्रको जवाफ : मोर्चासँग नतर्सिनु

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट नआत्तिन आग्रह गर्नुभएको छ । 

आज राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मोर्चा कसैका विरुद्ध लक्षित नरहेकाले नडराउन आग्रह गर्नुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले नेपाली कांग्रेसलाई घुर्क्याएर सत्तामा बार्गेनिङ गर्न समाजवादी मोर्चा अघि सारिएको टिप्पणी गरेकोप्रति घुमाउरो जवाफ दिंँदै यादवले कोही पनि तर्सिन नपर्ने बताउनुभयो । 

उहाँले मुलुकको परिवर्तनका लागि प्रगतिशील शक्ति एकताबद्ध भएर मोर्चा गठन गरिएको समेत प्रष्ट पार्नुभयो । राजनीतिक परिवर्तन भए पनि जनताले आफ्नो जीवनमा त्यसको अनुभूति गर्न नसकेको बताउँदै अध्यक्ष यादवले अब सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

शासन प्रणाली बदलिए पनि शासकको कार्यशैलीमा परिवर्तन नहुँदा जनताको जीवनमा त्यसको प्रभाव देख्न नपाइएको उहाँले बताउनुभयो । समाजवादी मोर्चाको उद्देश्य गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता, मौलिक हकजस्ता उपलब्धि सुनिश्चित गर्ने रहेको अध्यक्ष यादवको भनाई छ ।

टिप्पणीहरू