चीनबाट फर्केका माओवादी नेताद्वारा छिमेकीको संवेदनशीलता बुझ्न आग्रह
चीनमा लामो समय उपपचारपछि फर्कनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले मुलुकको भू–राजनीतिक जटिलता र संवेदनशीलतालाई ख्याल गर्न आग्रह गर्नुभएको छ । उहाँले हाम्रो भू–राजनीतिक जटिलताको संवेदनशीलतालाई ध्यानमा नराखी कूटनीतिक सम्बन्ध सञ्चालन गरिएमा गम्भीर समस्यामा पर्नेतर्फ सरकार र प्रमुख राजनीतिक दलका नेतालाई सजग गराउनुभएको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै नेता पुनले उक्त धारणा राख्नुभएको हो । कूटनीतिक परिपक्वता र दूरदर्शिता देखाउन नसके नेपालले अहिलेकोभन्दा पनि थप असहज परिस्थितिको सामना गर्नुपर्ने उहाँको चेतावनी छ ।
पुनले भन्नुभयो, ‘दलगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ । भूराजनीतिक जटिलताको सामना गरिरहेका छौं, कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्छ । दलगत स्वार्थमा चल्दा हामी अप्ठ्यारोमा पर्ने स्थिति छ ।’
चीनमा लामो समयदेखि उपचार गराउँदै आउनुभएका उपमहासचिव तथा पूर्वमन्त्री पुनको उक्त धारणाले विशेष अर्थ राखेको छ । यसबीचमा सरकार र केही राजनीतिक दलले छिमेकी मित्रराष्ट्रको संवेदनशीलतालाई बेवास्ता र खेलाँची गरेको आरोप लाग्दै आएको थियो । सोही सन्दर्भमा माओवादी नेताको उक्त धारणा सार्वजनिक भएको हो ।
टिप्पणीहरू