मीटरब्याज अध्यादेश खारेजीको माग चर्क्याे

मीटरब्याज अध्यादेश खारेजीको माग  चर्क्याे

सरकारले अध्यादेशमार्फत ल्याएको मीटरब्याजसम्बन्धी कानुन खारेज गर्न माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अध्यादेशले वास्तविक लेनदेनलाई अनुचित लेनदेन भनि आतंक फैलाएको जनाउँदै पीडित लेनदेन संघर्ष समिति, सिरहाले आज माइतीघरमा आन्दोलन गरेको छ ।  

मुलुकी ऐन, १९१०, मुलुकी ऐन २०२० तथा मुलुकी देवानी कार्यविधि संहिता २०७४ समेतले घरायसी व्यवहार चलाउन आपसी लेनदेनलाई कानुनी रुप दिएको उल्लेख गर्दै समितिले नेपाली जनताको हकहित र कानुनी दायित्वलाई लत्याएर ल्याइएको अध्यादेश खारेज गर्नुपर्ने उनीहरुको भनाई छ ।

ऋण तिर्न नपरोस् भनेर ऋणीहरुले मीटरब्याजी भनि निवेदन दिने, धाकधम्की दिनेलगायत कार्य गरिरहेको समितिको भनाइ छ । साँवा नै पचाउने नियतले आफूहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको आरोप समितिको छ । 

समितिले लगानीकर्तामाथिको आतंक अविलम्ब बन्द नगरेमा चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । वास्तविक लेनदेनलाई अनुचित लेनदेन भनेर मच्चाएको आंतक बन्द गर्न, स्थानीय निकायको जाँचबुझपछि मात्र उजुरी दर्ता गर्ने प्रावधान मिलाउन, बिनाप्रमाण लेनदेनसम्बन्धी उजुरी दर्ता नगर्न, लेनदेनको व्यवहारलाई मर्यादित र सहज बनाउन माग गरिएको छ । 

त्यस्तै, अनुचित लेनदेन अध्यादेश खारेज गर्न, तत्कालीन कानुनको अधिनमा रही गरिएको लगानीको कानुनबमोजिम साँवाब्याज उपलब्ध गराउन र हाल दर्ता भएका निवेदनहरु मुलुकी देवानी संहिता २०७४ को दफा ३६ को ३ (ख) बमोजिम जाँचबुझ गर्ने अधिकार स्थानीय तहलाई दिन भनिएको छ ।

टिप्पणीहरू