पशुपतिबाट झिकियो सुनको जलहरी
पशुपतिनाथमा हालिएको सुनको जलहरी झिकिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा चढाइएको सुनको जलहरी परीक्षण तथा नापतौलका लागि झिकेर गाडेश्वरमा लगिएको बताएको छ ।
जलहरीमा प्रयोग भएको १०८ केजी सुनमध्ये ११ केजीबारे शंका उत्पन्न भएपछि आज अख्तियारको टोलीले अनुसन्धानको क्रममा सुन तौलेको हो । परीक्षण तथा नापतौलका लागि शिवलिंगमा हालिएको यो जलहरी डेढ वर्षअघि बनाइएको थियो ।
जलहरी परीक्षण अवधिभर पशुपतिमा भक्तजनलाई छिर्न दिइएको छैन । सबैतिरको ढोका बन्द गरिएको छ भने,सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि हिजो नै मन्दिरको भित्री भागमा सिसिटिभी जडान गरिएको कोषले जनाएको छ ।
आयोगका सम्बन्धित अनुसन्धान अधिकारी,सुनचाँदी व्यवसायी संघका प्रतिनिधि,खानी तथा भूगर्भ विभागका अधिकृत र कोषका पदाधिकारीहरुको उपस्थितिमा सुन जोख्न थालिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट ३० करोड उपलब्ध गराएपछि कोषले आफ्नोतर्फबाट ५० करोड रुपैयाँ थपेर एक सय आठ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । त्यसपछि छोटो समयमा तयार पारिएको जलहरी हतार हतारमा पशुपतिभित्र बिच्छाएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराइएको थियो ।
जलहरीमा प्रयोग भएको सुन र यसको परिमाणबारे संसदीय समितिले समेत विशेष चासो राखेको थियो । समितिले कोषका सदस्य सचिवलाई बोलाएर दुई साताअघि बयान लिएको थियो ।
टिप्पणीहरू