भन्सार विभाग बाहिर दिनहुँ नाराबाजी
काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभाग परिसरमा हिजोदेखि सयौं प्रदर्शनकारी भेला भएका छन् । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालको आह्वानमा भएको आन्दोलनमा एजेन्टहरुले प्लेकार्ड बोकेर नारा लगाएका हुन् ।
प्रदर्शनकारीहरुले संशोधित भन्सार ऐन २०६४ र नियमावली २०६४ ले भन्सार प्रतिनिधिको व्यवस्था नै खारेज गरेकाले धर्ना दिनुपरेको बताएका छन् । संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा उल्टै व्यवस्था खारेज गरिएकाले आन्दोलन तथा धर्ना दिनुपरेको जिकीर गरेका हुन् । ।
देशभरका तीन सयभन्दा बढी भन्सार प्रतिनिधिहरु बजेट भाषण गरिएको जेठ १५ गतेबाट बेरोजगार भएकाले भन्सार प्रतिनिधिको व्यवस्था कायमको माग गरिएको छ । संघद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा तीन सय जनाको रोजगारी खोसिएको दाबी गरेका छन् । ती प्रतिनिधिको रोजगारीको ग्यारेण्टीका लागि सरकारलाई दबाब दिन धर्ना बस्नुपरेको उनले बताए । उनले आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारीमाथि लात हानेको आरोप लगाएका छन् । अर्यालले भने, ‘२५–३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएका छौं ।’
धर्नामा हाम्रो रोजगारीको सुनिश्चितता गर, संविधान प्रदत्त अधिकार कायम गर्, हान्यो वाण प्रतिनिधि जत्थामा, अन्धो सरकार बस्या छ सत्तामा, विभेदकारी ऐन संशोधन गरलगायत नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको छ ।
टिप्पणीहरू