संसद बैठक ११ बजे, बजेट जस्ताको त्यस्तै पारित हुने

संसद बैठक ११ बजे, बजेट जस्ताको त्यस्तै पारित हुने

प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गराउने तयारी गरिएको छ । सत्तारुढदेखि विपक्षी दलका सांसदहरुले समेत संशोधनको माग गर्दै आए पनि सरकारले संशोधनबिनै  आज पारित गराउने तयारी गरेको बताइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मातहतका कार्यालयको बजेट सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ । त्यसपछि बजेट पासको निम्ति प्रस्ताव प्रस्तुत हुने छ ।

सभामुख देवराज घिमिरेले विभिन्न मन्त्रालयको शीर्षकमा सांसदहरुले प्रस्तुत गरेको खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । २७ जना सांसदले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन् ।

गत जेठ १५ गते प्रस्तुत भएको बजेटमाथि २२ गतेदेखि छलफल भएको हो । यसबीचमा सत्तारुढ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बजेट संशोधन नभएसम्म पारित गर्न नदिने अडान राखेका थिए । तर, अहिले प्रधानमन्त्रीसँग सहमति जुटेको भन्दै उनीहरु समेत बजेट पारित गराउन सहमत भएको बताइएको छ ।
 

टिप्पणीहरू