आफैँले उछालेका विषयमा र्‍याख र्‍याख्ती

आफैँले उछालेका विषयमा  र्‍याख र्‍याख्ती

एमालेमा रहँदा छिटो छिटो अवसर लिएर पार्टी अध्यक्ष एवं नगर प्रमुख अशोक ब्याञ्जुमार्फत माथि चढेका तत्कालीन वडाध्यक्ष एवं हालका उपप्रमुख नीराजन जंगम आफूले खनेको खाडलमा आफैँ परेका छन् । 

उनलाई पाँचखालका नगर प्रमुखले निजी गाडीलाई सरकारी बनाएर चढेको, लिन नमिल्ने भत्ता लिँदा महालेखाको रिपोर्टमा बेरुजु देखिएको, वडाध्यक्ष तथा सदस्य र कर्मचारीको हकमा पनि बेरुजु भेटिएपछि सार्वजनिक भएको विषय उछालेको भन्दै नगर सभामा  र्‍याखर्‍याख्ती पारिएको छ । नीराजनले वडाध्यक्ष हुँदा गरेका सबै कुरा वडा सदस्यहरूले उठाएपछि उनी अप्ठ्यारोमा परेका थिए । एमाले हुँदा नगर प्रमुखको नजिक बनेर कार्यपालिकालाई समेत दबाबमा राखी २३ लाख रूपैयाँ फोहोरमैला व्यवस्थापनमा छुट गरेको असुल गर्न नगर सभामा माग भएको छ ।

एमालेको वडाध्यक्ष हुँदाहुँदै कांग्रेसबाट उपप्रमुखको टिकट लिएका जंगमले कांग्रेस नेताहरू धुलिखेल आउँदा नगरपालिकाबाट तिरेको ४५ हजारको बिलबारे समेत सदस्यहरूले प्रश्न उठाए । उनैले चढ्ने गरेको ४ वर्ष पुरानो गाडी मर्मतका नाममा अस्वाभाविक खर्च भएको भन्दै छानबिनको माग गरे । जनप्रतिनिधि भएर कर्मचारीजस्तो हरेक दिन बिहान एउटै समयमा प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरमा खाना खाने र त्यसको बिलसमेत नगरपालिकामा बुझाउने गरेका छन् । हेटौंडा, काठमाडौँ जाँदासमेत भ्रमण भत्ता लिने गरेका छन् । नगर प्रमुखको भन्दा धेरै इन्धन खर्च गरेको लगबुकबाट देखिन्छ । त्यति धेरै गरिरहँदा पनि उनी दूधले नुहाएजस्तो देखिएपछि नगर सभामा उनको दोहोलो काढिएको थियो । 

धुलिखेल नगरपालिकाको १३औँ नगर सभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पास भएलगत्तै शुरु भएको शून्य समयमा बोल्दै सदस्यहरूले नगरपालिकाभित्र हुँदै नभएको विषयलाई अनियमितताको हवाला दिँदै सार्वजनिक गर्नेमाथि कारबाहीको माग गरेका थिए । धुलिखेल–८ का नागरिकलाई दुईवटा सिफारिस दिएर राजश्व छलेको, कार्यालयका कागजात नष्ट गरी सरकारी सम्पत्ति हिनामिना गरेको, अन्य कागजातसमेत नष्ट गरेको, वडाध्यक्ष हुँदा उपभोक्ता समिति गठन, सिफारिसलगायत विषयमा अनियमितता गरेकालगायत विषयमा छानबिनको माग उठेको छ । 

‘हामी चेपुवामा पर्‍यौं, पत्रकारले पाँचखालको समाचार लेख्नुभयो, यताको केही पनि नआउँदा समस्या भयो, जे–जे भए पनि होस् भनेर दियौं, आखिर हैन रहेछ, त्यसै बदनाम भयो, अहिले हामीलाई नै संकट भयो,’ ती सदस्यले भने । नगरपालिकाको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको छवि कायम गर्न आफूहरू प्रतिबद्ध भएर सभामा आएको ती सदस्यहरूले बताए । 

टिप्पणीहरू