बुटवलका मेयर बाजा बजाउँदै हिलाम्मे खेतमा पसे
-ऋषि भट्टराई
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पनि ‘राष्ट्रिय धान दिवस’ मनाएको छ । वडा नम्बर १५, उजेलापुरमा रोपाइँ गरेर बाजागाजासहि धान दिवस मनाइएको छ । स्थानीय भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाका पदाधिकारीहरुले बाजागाजासहित ‘होहो माले होहो’ भन्दै धान रोपका छन् ।
रोपाइँमा मेयर खेलराज पाण्डे सबैभन्दा धेरै उत्साहित देखिन्थे । वडास्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २० औं राष्ट्रिय धान दिवसको आयोजना वडा नम्बर १५ को कार्यालयले गरेको हो ।
महोत्सवमा मेयर पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, विभिन्न वडाका वडाध्यक्ष र स्थानीयको सहभागिता रहेको बताइन्छ । सो क्रममा मेयर पाण्डेले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउन थप लगानी गर्ने र कृषकहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
उनले बुटवललाई आगामी वर्षदेखि धान, गहुँ र तरकारीको पकेट क्षेत्र बनाउने घोषणा गरेका छन् । वडा नम्बर १२ देखि १९ सम्म प्रशस्तै खेतीयोग्य जमिन रहेको उल्लेख गर्दै उनले सो क्षेत्र कृषिमा पकेट एरिया बन्न सक्ने बताएका छन् ।
टिप्पणीहरू