राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध
राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध भएको छ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै हिजोझैँ आज पनि बैठकमा अवरोध सिर्जना गरेको हो ।
प्रधानमन्त्री दाहालको विवादित अभिव्यक्तिलाई लिएर हिजोदेखि एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध पार्दै आएको छ । उहाँको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच पुगेको एमालेको आरोप छ ।
आज बैठक शुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए । राजीनामा नदिएसम्म बैठक सञ्चालन गर्न नदिने उनको भनाई छ ।
बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । सरदार प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा प्रधानमन्त्री दाहालले तीन दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक–पटक नयाँ दिल्ली गएको बताउनुभएको थियो । प्रधानमन्त्रीको उक्त भनाईको संसदमा विपक्षी दलहरुले चर्को विरोध गरेका छन् ।
टिप्पणीहरू