प्रधानन्यायाधीश सिफारिस गर्न वकिलहरुको माग

प्रधानन्यायाधीश सिफारिस गर्न वकिलहरुको माग

सर्वोच्च अदालतमा आगामी प्रधानन्यायाधीश नियुक्तिको निम्ति सिफारिस गर्न सर्वोच्च अदालत बार एशोसिएशनले माग गरेको छ । प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको पत्रमा संवैधानिक व्यवस्थाबमोजिम एक महिना अगावै प्रधानन्यायाधीशको प्रक्रिया पूरा गर्न भनिएको छ । 

एशोसिएशनको हिजो बसेको बैठकले गरेको निर्णयमा ‘नेपालको संविधानको धारा २८४ को उपधारा (३) मा संवैधानिक परिषदले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने,’ व्यवस्था रहेकोबारे स्मरण गराइएको छ ।

सोहीबमोजिम आगामी साउन २० गते अवकाश हुनुहुने वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिनु एक महिना अगावै भावी प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने दायित्व संवैधानिक परिषदको भएको बारको ठहर छ । सोबमोजिम नयाँ प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गर्न माग गरिएको हो ।

बारका सचिव श्यामकुमार खत्रीले प्रधानमन्त्रीलाई लेखेको पत्रको बोधार्थ सर्वोच्च अदालत र न्याय परिषद्लाई समेत दिइएको छ ।

टिप्पणीहरू