वैदेशिक रोजगार व्यवसायीको प्रदर्शनपछि अध्यागमन विभागका चार शर्त
अध्यागमन विभागले केही दिनअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कुवेत जान लागेका नेपाली श्रमिकको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थानका लागि पेश गरेका कागजात शंकास्पद देखिएकाले प्रस्थान अनुमति नदिएको स्पष्ट पारेको छ ।
विभागले वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकलाई फर्काइएको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका क्रममा केही श्रमिकले पेश गरेको भिसा सम्बन्धित देशको आधिकारिक बेवसाइटमा नखुलेको र भिसाको अवस्था ‘वेटिङ अप्रभुल’ मा रहेकाले विमानस्थलबाट फिर्ता गर्नुपरेको बताएको हो ।
आज विज्ञप्ति जारी गर्दै विभागले यस विषयमा थप छानबिन गरी आवश्यक निर्णयमा पुग्न छानबिन समिति समेत गठन भई कार्य प्रारम्भ भइसकेको जानकारी पनि दिएको छ । छानबिन समितिको प्रतिवेदन प्राप्त भई अर्को निर्णय नहुँदासम्मका लागि वैदेशिक रोजगारमा जाने सबै यात्रुलाई चार वटा सर्तको आधारमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ ।
जसअनुसार अब वैदेशिक रोजगारमा जाने यात्रुले अंग्रेजीबाहेक अन्य भाषामा भएका भिसा अनिवार्य रुपमा अंगे्रजी भाषामा अनुवाद गरी नोटरी समेत गरी पेश गर्नुपर्ने छ । त्यस्तै, भिसामा उल्लेख भएको रोजगारदाताको नाम र श्रम स्वीकृति, सम्झौता पत्रमा उल्लेख भएको रोजगादाताको नाम र पेश भएको एउटै हुनुपर्छ ।
प्यारेन्ट कम्पनी÷होल्डिङ कम्पनीअन्तर्गतको कम्पनीसँग सम्झौता गरी श्रम स्वीकृति लिएको भए उक्त प्यारेन्ट कम्पनी÷होल्डिङ कम्पनीले आफु मातहतको कम्पनी हो भनी लेखेको आधिकारिक पत्र पेश गर्नुपर्ने विभागले जनाएको छ ।
कुवेत जाने श्रमिकहरुको ईभिसाका सम्बन्धमा सम्बन्धित मेनपावर कम्पनीले सम्पूर्ण जिम्मेवारी लिई प्रतिबद्धतापत्र पेश गर्नुपर्ने छ ।
टिप्पणीहरू