संगीतकार सुरेश अधिकारीका सबै गीत बहिष्कार !

संगीतकार सुरेश अधिकारीका सबै गीत बहिष्कार !

नेपालका स्वतन्त्र रेडियोसम्बद्ध तीन छाता संगठनले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृतिको बहिष्कार गर्ने भएका छन् । 

रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले यस्तो घोषणा गरेका हुन् । 

उनीहरुले अधिकारीको नामबाट सञ्चालित फेसबुक एकाउन्टमार्फत् आएको अत्यन्त अमर्यादित गाली गलौज, मानमर्दन र भ्रम सिर्जना गर्ने आसयसहितको अभिव्यक्तिप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दैै यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै नभई सञ्चार माध्यमसितको सम्बन्धमा समेत दूरी बढाउने कार्य भएको बताएका छन् । 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली संगीत क्षेत्रका एक जना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्तिबाटै यसप्रकारको तृच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा हुनै सक्दैन ।’ 

नेपालको संविधानको भाग ३ ‘मौलिक हक र कर्तव्य’ अन्तर्गत १९ औं दफा (सञ्चारका हक) को ठाडो उल्लंघन गर्दै आम सञ्चारगृहका उपकरणहरु समेत उठाउने विषयमा दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तीन वटै संगठनले आम सञ्चारगृहको सुरक्षाको माग पनि गरेका छन् । 

उनीहरुले एक संगीत सर्जकद्वारा यसरी सञ्चारमाध्यमलाई लक्षित गर्दै प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिनु विधि, विधान र लोकतान्धिक चरित्र विपरीतको कार्य भएको ठहर गरेका हुन् । अराजक अभिव्यक्तिले समग्र स्वतन्त्र रेडियो र संगीत क्षेत्रबीचको सुमधुर सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने भएकाले संगीतकार अधिकारीका सम्पूर्ण सांगितिक कृतिहरु रेडियोबाट प्रसारण गर्न नसकिने पनि विज्ञप्तिमा उल्लेख छ । 

केही दिनअघि संगीतकार सुरेश अधिकारीले सामाजिक सञ्जालमार्फत रोयल्टीको विषयलाई लिएर रेडियोहरुको चर्को आलोचना गरेका थिए । उनले लेखेका थिए, ‘रेडियोका संघसंस्थाका टाउके भनाउँदा केही लाउकेहरु रोयल्टीलाई अपारदशी भयो भन्दैछन्, आजसम्म बिना रोयल्टी श्रष्टाहरुको सम्पत्तिमा तिमीहरुले मच्चाएको लुटमार कायमै राख्न तिमीहरुले गरेका प्रपञ्जका खिच्चा राजनीतिलाई हामी चूनौती दिन चाहन्छौं । खिच्च आरोपको राजनीतिमा नरमाउ, यथार्थको धरातलमा टेक्ने हिम्मत गर !’
 

टिप्पणीहरू