भारतीय प्रधानमन्त्रीसँग सँधै देखिने महिला को हुन् ?

भारतीय प्रधानमन्त्रीसँग सँधै देखिने महिला को हुन् ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विवाहित भए पनि ‘सिंगल’ हुन् । प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पछिल्लो नौ वर्षमा विभिन्न विवादमा तानिए पनि उनी हालसम्म महिलाको विषय र मादक पदार्थ सेवनमा कहीं कतै जोडिएका छैनन् । तर,उनै मोदीसँग प्रायः विदेशको उच्चस्तरीय भ्रमणमा साथमा रहने एउटी अधबैंशे महिलाबारे अहिले चर्चा परिचर्चा शुरु भएको छ । 

हवाई उडानमा सँगै,अन्य राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँगको विशेष भेटवार्तामा पनि टाँसिएरै कानेखुशी गर्ने गरेकी ती महिला डा. गुरदीप कौर चावला हुन् । भारतीय अधिकारीहरुका अनुसार त्यस्ता विशेष औपचारिक बैठक र कुराकानीमा ती महिला प्रधानमन्त्री मोदीभन्दा पछाडिको सिटमा केही झुकेर बसेकी हुन्छिन् ।

अमेरिकाको क्यालिफोर्नियामा बस्ने गुरदीपलाई अहिले विश्वका थोरै राम्रा दोभाषेमध्ये एक भन्न थालिएको छ । नयाँ दिल्लीमा विद्यालय शिक्षादेखि उच्चशिक्षा पूरा गरेकी उनले विद्यावारिधी पनि भारतबाटै गरेकी हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र पछि विद्यावारिधी गरेको बताइन्छ । उनीसँग भारतीय संसद, क्यालिफोर्नियाको न्यायिक परिषद र अमेरिकी विदेश मन्त्रालयअन्तर्गत रहेर काम गरेको लामो अनुभव छ ।

उनले पछिल्लो २८ वर्षदेखि दोभाषेको जिम्मेवारी सम्हाल्दै आएकी छन् । विशेषगरी पब्लिक डिप्लोमेसी र कर्पोरेट वर्ल्डसँग सम्बन्धित विषयमा उनीसँग सरकार तथा राज्य प्रमुखहरुलाई विभिन्न भाषामा एकै पटक दोभाषेको काम गर्नसक्ने क्षमता भएको बुझिएको छ । एकै पटक धेरै भाषामा अनुवाद गर्ने र विश्वका नेताहरु सहभागी विशेष कार्यक्रममा एकै पटकमा धेरै नेताले अर्काले बोलेको भाषा बुझ्ने गरेकाले पनि उनी चर्चित भएकी हुन् ।

भारतीय न्यूज एजेन्सीहरुका अनुसार चावलाले लगभग विश्वको अधिकांश मुलुक घुमिसकेकी छन् । संयुक्त राष्ट्रसंघ, जी २० सम्मेलन, जलवायु परिवर्तन, दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियान र अमेरिका–भारत रणनीतिक तथा वाणिज्य वार्तामा उनले विभिन्न समयमा काम गरिसकेको बताइन्छ । 

चावला विभिन्न मुलुकको सीमापार व्यापार,सांस्कृतिक विविधता, कर्मचारीतन्त्रका चुनौतिबारे विशेष अनुभव र दखल रहेकाले पनि कोरा दोभाषेको भूमिकामा मात्रै नरहेकी हुन् ।

भाषाको तत्काल र सटिक अनुवाद गरेकाले उनले भारतका सात जना प्रधानमन्त्रीको निम्ति दोभाषेको काम गरिसकेकी छन् । तत्कालीन प्रधानमन्त्रीहरु भिपी सिंह, चन्द्रशेखर,नरसिंहराव, अटलबिहारी बाजपेयी,आईके गुजराल,मनमोहन सिंह र हालका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सन् २०१४ देखि उनले भाषा अनुवाद गरेर गुन लगाएकी छन् ।

चावलालाई भारत सरकारले प्रधानमन्त्री मोदीको आधिकारिक दोभाषेको रुपमा नौ वर्ष अगाडि नै नियुक्त गरेको थियो ।

टिप्पणीहरू