उक्त पदमा अचम्मको आकर्षण

उक्त पदमा अचम्मको आकर्षण
सुन्नुहोस्

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दुःख हो यो, पुरानो ४८ अर्ब ऋण कसरी तिर्ने टुंगो छैन तर अहिले साढे दुई अर्बमा तीन ट्वीनअटरको खाँचो परिसक्यो ।  

अर्थ मन्त्रालयले भर्खरै नयाँ जहाज किन्न भनेरै हैन, पहिलाको ऋणको व्याजलाई घटाउन भनेर नेवानिका हकमा एउटा निर्णय गरेको छ । नेवानि भन्छ, तीन वटा ट्वीनअटर जहाज नभएर दुर्गमभेगका उडान गराउनै सकिएन । अनि, दुई वटा न्यारोबडी जहाजको उत्तिकै खाँचो छ ।

तर, पर्यटन र अर्थका हाकिमहरु भन्दैछन्, ४८ अर्ब ऋण हुँदाहुँदै अर्को जहाज किन्न दिने कुरा हुँदैन । आन्तरिक तथा वाह्य उडानबाट गत आर्थिक वर्ष नेवानिले गरेको आम्दानी थियो, ३ अर्ब ९० करोड । त्यो पैसा ४८ अर्ब ऋणको व्याज तिर्दैमा ठिक्क हुन्छ । त्यसैले न्यारोबडी जहाजको अभावपूर्ति गर्न विदेशबाट भाडामा ल्याएर चलाउने उपाय निस्किएको छ । त्यसो गर्दा फाइदा हुने अवस्था पनि छ ।

तर, भाडामा जहाज लिने भनेपछि मन्त्री, सचिवदेखि सबैको स्वार्थका कुरा उठ्ने भयो । उत्पादक कम्पनीबाट ल्याउने, बिचौलियाबाट नल्याउने हो भने त्यस्तो समस्या हुँदैन । तर, उत्पादकसम्म पहुँच हुने मान्छेले त्यहाँ सम्बन्ध छ भन्ने कुरा लुकाउने गरेका छन् । किनभने, सीधै त्यसरी जहाज ल्याउँदा बीचका मान्छेले खाने कमिशनको रकम जोगिन्छ । कमिशन नखाई यस्तो काम गर्ने जाँगर कसैमा देखिँदैन । अर्कातिर, ललिता निवास प्रकरणमा शाखा अधिकृत हुँदा उठाएको एउटा पुरानो टिप्पणीका आधारमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि अहिले कर्मचारीहरु जस्तोसुकै आदेश पाए पनि टिप्पणी उठाउने जोखिम मोल्न तयार छैनन् । 

अर्कातिर, एउटा यस्तो नियुक्तिको मामिला छ, जसमा तलब–सुविधा केही छैन, तर मान्छेहरुको दौडधुप व्यापक छ । भिक्षु मैतेया त्रिपाठीले साउन १० गते चार वर्षे कार्यकाल सिध्याएपछि लुम्बिनी विकास कोषको उपाध्यक्ष हुनका लागि अर्थ राज्यमन्त्री भइसकेका धुन्धुकारी भिक्षु ल्हार्केल लामादेखि विदेशबाट स्रोत नखुलेको रकम भित्र्याउने गायिका आनी छोइङ डोल्मासम्मको दौडधुप चलिरहेको छ । उक्त पद राज्यमन्त्रीसरहको हो ।

पहिला–पहिला उपाध्यक्षले तलब र सुविधा पनि लिन्थे । पछि महालेखा परीक्षकले त्यसलाई बेरुजुमा हाल्यो, अख्तियारले पनि नपाउने भनी निर्णय गरेपछि अहिले हुने उपाध्यक्षले पाउने केही हैनन् । तर, केही पाइँदैन भन्ने जान्दाजान्दै पनि पदका लागि किन यत्रो दौडधुप चल्दैछ ? संस्कृति, पर्यटन मन्त्रालयमा यसबारे चर्चा चल्ने गरेको छ कि, लुम्बिनी क्षेत्रमा रहेका जमिनहरु भाडामा दिने, महंगा संरचना बनाउने नाममा आर्थिक चलखेल हुने गरेको छ । त्यसमाथि सोही पदको आडमा विदेश र विदेशी भिक्षुसँग सम्बन्ध विकास गर्ने र व्यक्तिगत लाभ लिने काम हुने गरेको छ ।

संस्थागत सहयोग लिनका लागि सरकारको स्वीकृति चाहिन्छ । त्यसो गर्दा उपाध्यक्षलाई केही पनि फाइदा हुँदैन । त्यसैले व्यक्तिगत फाइदाका लागि पद हत्याउने दौडधुप चलिरहेको मन्त्रालयमा चर्चा छ । त्यसैले बैंकको लकरमा गोली लुकाउने ल्हार्केलदेखि ‘फूलको आँखामा फूलै संसार’ भन्ने राम्रो गीत गाउने आनी छोइङसम्मको यसमा दौडादौड चलेको बताइन्छ ।
 

टिप्पणीहरू