नेताको आडमा, जनता गए भाँडमा

नेताको आडमा, जनता गए भाँडमा

मिथिलेश श्रीवास्तव ! भारतमा एक बेलाका कुख्यात ठग नटवरलाल । राष्ट्रपति भवन र संसद भवनसमेत बेचेका तिनले दुई पटक त दिल्लीस्थित लालकिल्ला नै अर्कालाई सुम्पिएका थिए भने ताजमहल त झन् तीन–तीन पटक बेचेर संसारलाई आश्चर्यचकित तुल्याए । 

हो, उनैलाई स्मरण गराउने एक अर्का पात्र भेटिएका छन् नेपालमा ! जसले प्रधानमन्त्री निवास र मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट सिंगो मधेश प्रदेशमा लुट मच्चाइरहेका छन् । झन् उदेकलाग्दो त के भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पूर्ण साथ–सहयोग छ । महोत्तरी, भंगाहाका ३२ वर्षीय सञ्जीव साहको रहस्यमय ठगी धन्दाबारे हामी यहाँ चर्चा गरिरहेका छौँ ।

ठगीको श्रृंखला

विराटनगरमा जानकारी नै नदिई थोक ब्यापारीलाई उत्पादित भाँडावर्तन पटकपटक गोप्य रूपमा बेचेपछि पार्टनरले प्रहरी लगाएर पक्राउ गराएका थिए । ‘करिब १ महिनाको कारावास बसाइपछि छुटेका उनले त्यसपछि मिर्चैयालाई ठगीको ट्राञ्जिट बनाएको देखिन्छ’– सिरहा जिल्ला प्रहरी कार्यालय स्रोत भन्छ ।

धनगढीमाई नगरपालिका– ४ का राकेशकुमार यादवका अनुसार ४ वर्षअघि सञ्जीवले मिर्चैयाको कटारी चोकमा रेडिमेड कपडा पसल खोले । हिरो बाइकको शोरूममाथि खोलिएको रेडिमेड पसलको नाम थियो– आरएस कलेक्सन । यो कपडा पसललाई आधार बनाएर मिर्चैयाका व्यापारी ब्यवसायीबाट महँगो ब्याजको आश देखाई मोटो रकम सापटी लिँदै गए । ऋण धेरै भएपछि श्रीमती बबितालाई पसलमा राखेर बेपत्ता भए । ऋण फिर्ता माग्न गएका सिरहा जिल्ला उद्योग वाणिज्य सँघका उपाध्यक्ष रामचन्द्र साहका छोरामाथि श्रीमती बबिताले अभद्र व्यवहारको आरोप नै लगाइन् । प्रहरी कार्यालयमा छलफल गरेर विवाद टुंगिएको थियो । २ करोडभन्दा बढी ऋण असुलेर बेपत्ता भएका सञ्जीव जनकपुरमै फेरि अर्काे रेडिमेड कपडा पसल खोलेर मिर्चैयामा पुनः झुल्किए  । अहिले भने उक्त रेडिमेड पसल पनि बन्द छ । 

कृषिका नाममा करोडौँ

मुलुक संघीयतामा प्रवेश गरेसँगै तत्कालीन २ नम्बर प्रदेशले कृषिका नाममा पूर्ण अनुदान वितरणको नीति ल्यायो । यो नीतिले धेरै नेता–कार्यकर्तालाई कार चढायो । सुविधासम्पन्न पक्की घरको मालिक बनायो । माछापालनको नाममा करोडौँ अनुदान निकालेकाहरू नवधनाढ्य बने । यी सब नजिकबाट नियालेका सञ्जीवले आफ्नै क्षेत्रका सांसद माओवादी नेता गिरिराजमणि पोखरेलसँग हिमचिम बढाए । पोखरेल शिक्षामन्त्री भएका बेला उनकै समन्वयमा तत्कालीन सिरहाको धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीमार्फत ४ नं. वडाको जिरोमाइल–सुखीपुर सडक खण्डमा पर्ने निम चोकमा भब्य कृषि फर्म खोले अनि पूर्ण अनुदानको लागि नियमित सिंहदरबार धाउन थाले । ५० लाख रूपैयाँ अरूण सिंह, भुवनेश्वरप्रसाद साह र नरेश जैनले दिए । पप्पुले चेकफार्फत एन एम बि बैंक र तीन जनाले नेपालमै बंगलादेश बैंकमार्फत जम्मा १ करोड रूपैयाँ दिएको देखिन्छ २०७६ साल ६ महिना ३० गतेका दिन । तर, सञ्जीवले हस्तलिखित बैंक स्टेटमेन्टमार्फत ३ पटक गरेर अरूणकुमार सिंहलाई नेपाल बंगलादेश बैंकमार्फत ८३ लाख २४ हजार दिएको दाबी गरेका छन् । उनीसँग कारोवार हुनुअगावैको मितिमा पैसा फिर्ता कसरी भयो ? शंकाको विषय बनेको छ । 

ठग्ने शैली गज्जबको

उच्च स्रोतका अनुसार सबैभन्दा पहिला उनी म्यानेजरमार्फत बैंकमा कसको कति रकम मौजुदा छ भनेर पत्ता लगाउँछन् । धनगढीको फर्म डुलाउँछन् । करिब ४ सय हाराहारीमा गाईभैँसी रहेको फर्म डुलाउने क्रममा सरकारले १० देखि २० करोडसम्म पूर्ण अनुदान दिन लागेको भन्दै कागजात देखाउँछन् । अनुदान निकाल्न पैसा नभएको दुखद कथा सुनाउँछन् । एक महिनालाई भन्दै पहिलो चरणमा चेक दिएर थोरै पैसा ऋण माग्छन् । २÷४ दिनमै मनग्ये ब्याजसहित सापटी फिर्ता गर्छन् । त्यसपछि शुरु हुन्छ असली खेल । सम्भवतः मधेश प्रदेशकै ठूलो मानिएको उक्त फर्म अवलोकनपश्चात् निसङ्कोच ५० लाख रूपैयाँसम्म दिनेहरूको लिस्ट लामै छ । करिव २ सय ब्यक्तिसँग सञ्जीवले चेक दिएर १० करोडभन्दा बढी ऋण लिएको प्रहरी स्रोतको दाबी छ । 

बैंकहरूसँग डरलाग्दो सेटिङ

बैंक म्यानेजरहरूसँगको सेटिङमा सञ्जीवले करोडौँ रूपैयाँ चुना लगाएको भेद खुलेको छ । प्रतिकठ्ठा २ लाख रूपैयाँमा खरिद गरेको फर्म रहेको जग्गा २० लाख रूपैयाँ मूल्यांकनको कागजात खडा गरेर नेपाल एसबिआई बैंक, लहान शाखाबाट २४ करोड रूपैयाँ स्वीकृत गराएको भेटिएको छ । बैंक स्रोतका अनुसार स्वीकृत रकममध्ये १५ करोड रूपैयाँ निकालिसकेका छन् भने साउन पहिलो साता ६ करोड निकाल्ने योजना छ । 

रविको साथ

आजभोलि सञ्जीवको बसाइ काठमाडौंमा छ । मीटर ब्याज पीडितको आन्दोलनमा सहभागिता जनाउन काठमाडौंमा रहेको बताइरहेका उनी दैनिकजसो सिंहदरबार जान्छन् । गृह सचिव दिनेश भट्टराईसँग भेटेर कृषि फर्म सञ्चालन गर्दा ऋणमा परेको, मीटरब्याजीले मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको भन्दै सुँक्कसुँक्क रोएर धेरैलाई फोनसमेत गर्न लगाउँदै आएका छन् । त्यस्तै प्रधानमन्त्री निवासमा धाएर निजी सचिवालयबाट फोन हान्न लगाउने गर्दै आएका छन् ।

लामिछानेले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसँग सञ्जीवकी श्रीमती र छोरासहित भेटघाट गराएर फोटोसमेत खिचाइदिएका थिए । सञ्जीवले उक्त फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेर धेरैजसो ऋणीहरूलाई फोन गरी ‘मेरो साथमा प्रधानमन्त्री, प्रहरी÷प्रशासन, ठूला नेता छन्, तिमीहरूले मेरो रौँसमेत उखेल्न सक्दैनौ’ भनेर थर्काएको पीडितहरूले बताएका छन् । सञ्जीवले यसको बदलामा मधेशमा रास्वपाको संगठन बनाउन सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन्छ ।

– सन्तोष बराइली
 

टिप्पणीहरू