आँखा पाक्न थालेपछि विद्यालय बन्द

आँखा पाक्न थालेपछि विद्यालय बन्द

केही दिनयता मुलुकका धेरैजसो जिल्लामा आँखा पाक्ने रोग समस्याको रुपमा देखा परेको छ । यो प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्न थालेका छन् । 

चितवनको भरतपुर महानगरपालिका, रत्ननगर र खैरहनी नगरपालिकाले यो संक्रमण बढेपछि शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेका हुन् । दाङको गढवा गाउँपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका, रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, सुस्ता गाउँपालिका र कास्कीको पोखरा महानगरपालिकाले पनि केही समयका लागि विद्यालय बन्द गराएका छन् ।

आँखा पाक्ने रोगको प्रकोप तीब्र गतिमा फैलिएसँगै ती स्थानीय तहले तीनदेखि पाँच दिनसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्दको निर्णय गरिएको जनाएका छन् । 

विगत केही दिनदेखि मुलुकका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगको उपचार गराउने बिरामीको चाप बढ्दै गएको छ । काठमाडौंस्थित तिलगंगा, नेपाल आँखा अस्पताललगायत देशभरका आँखा अस्पतालका विशेषज्ञलाई यो समस्याको उपचार गर्न भ्याइनभ्याइ छ । यो रोग मुलुकभर फैलिइसकेको बताइन्छ । 

जेठमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा भने असारको दोस्रो सातादेखि फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.पवनकुमार साह बताउँछन् । प्रायः गर्मी मौसममा फैलिने यो रोग हरेक उमेर समूहका व्यक्तिमा लाग्न सक्छ । तर, पछिल्लो समय आँखा पाक्ने रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित छन् ।

के हो आँखा पाक्ने रोग ? 

आँखाको विभिन्न समस्यामध्ये आँखा पाक्ने रोग सामान्य रोग हो । चिकित्सकीय भाषामा यो रोगलाई एडियो भाइरल कन्जक्टिभाइटिस भनिन्छ । यो एक किसिमको संक्रामक रोग हो । रोगीको रुमाल वा अन्य कपडा प्रयोग गर्नाले पनि यो रोग सजिलैसँग फैलिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता साहको भनाई छ । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ भने धेरै धुलो, धुँवा र प्रदूषणले पनि यो समस्या हुन जान्छ । 

यसका लक्षणहरु

यो रोग लागेपछि शुरुमा आँखा रातो हुन्छ । त्यसपछि चिलाउँछ, आँखाबाट आँशु बगिरहन्छ । सुतेर उठेपछि आँखामा चिप्रा लाग्छ । त्यसपछि आँखाका ढकनी रातो हुँदै सुनिन्छ । क्रमशः आँखा बिझाउँदै दुख्न थाल्छ । त्यस्तै, घाम वा उज्यालोमा आँखा हेर्न गाह्रो हुने चिकित्सकहरु बताउँछन् ।

रोकथामका उपाय

यो रोग लाग्नबाट जोगिन संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा जान नहुने बताउँछन् । ‘संक्रमित व्यक्तिलाई भीडभाडमा जानदिन हुँदैन । त्यस्ता व्यक्तिले प्रयोग गरेका सामान रुमाल,सिरानी, तन्ना पनि प्रयोग गर्नुहुन्न,’ मन्त्रालयका प्रवक्ताले भने । 

त्यस्तै, जथाभावी आँखा नछुन, छुनपरेमा छुनुअघि वा छोइसकेपछि साबुन पानीले राम्रोसँग मिचेर हात धुनुपर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । 

रोग लागेपछि के गर्ने ?

आँखा पाक्ने रोग लागेपछि बरफ वा सफा रुमाल राखी आँखा बन्द गरेर सेक्नुपर्छ । आँखा मिच्नुहुन्न र आँखामा पानीसमेत छ्याप्नुहुन्न । आँखा छोइसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुनुपर्छ । प्रशस्त मात्रामा पानी र पोषिलो खाना खानुपर्छ । 

बाहिर घाममा जाँदा कालो चस्माको प्रयोग गर्नुपर्ने बताइन्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाललगायत कपडा दिनहुँ धुनुपर्छ । बिरामीका सामान पनि अरुले छुनुहुँदैन ।

चिकित्सकको सल्लाहबिना जथाभावी औषधिको प्रयोग गर्न नहुने मन्त्रालयका प्रवक्ता साह बताउँछन् । यो रोग लागेपछि दृष्टि कम भएमा वा आँखाको समस्या बढेमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने सुझाव उनको छ । आँखा पाक्ने रोग (भाइरल कन्जक्टिभाइटिस) भइहाले पनि अत्तिनु नपर्ने र एकदेखि दुई हप्तामा आफैं निको हुने साहको भनाई छ ।

टिप्पणीहरू