संसद बैठक भिडन्ततर्फ उन्मुख, सभामुख तटस्थ हुन नसकेको आरोप

संसद बैठक भिडन्ततर्फ उन्मुख, सभामुख तटस्थ हुन नसकेको आरोप
सुन्नुहोस्

सुन तस्करी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । गत असार ३१ गते बसेको बैठकयता छ वटा बैठक एमालेका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ । 

१० साउनमा बसेको बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय वा संसदीय समिति गठनको माग गर्दै एमालेले शुरु गरेको अवरोध आज पनि जारी रह्यो । यसबीचमा तीन वटा बैठक सूचना टाँसेर स्थगित गरियो भने तीन वटा बैठक कार्यसूचीमा नै प्रवेश गर्न सकेन ।  

आज पनि बैठकको प्रारम्भमै एमालेका सांसदहरु विरोधमा उत्रिए । सांसद सूर्यबहादुर थापाले छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान दोहोर्याएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाउँदै बैठक स्थगित भएको घोषणा गर्नुभयो । अर्को बैठक पर्सि दिउँसो १ बजे राखिएको छ । 

एमालेले लगातार बैठक अवरुद्ध पारेपछि संसद भिडन्ततर्फ उन्मुख हुन् थालेको बताइन्छ । आज एमाले सांसदहरु नाराबाजीमा उत्रिँदा सत्तापक्षका सांसदहरुले पनि उठेर विरोध गरेका थिए । एमाले सांसद थापाले बोल्दै गर्दा सत्तापक्षका रामहरी खतिवडा, राजन दाहाललगायतले प्रतिवाद गरेका थिए । 

उनीहरुले बैठक सञ्चालनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप सभामुखमाथि समेत लगाएका छन् । सभामुख घिमिरेले बैठक सञ्चालनको निम्ति पर्याप्त पहल नगरी एमाले सांसदहरुलाई बोल्न समय दिएको सत्तापक्षका सांसदहरुको आरोप छ । 

माओवादी केन्द्रका सांसद राजन दाहालले यसअघि संसद बैठकमै सभामुखको भूमिका तटस्थ हुन नसकेको भन्दै असन्तुष्टी जनाएका थिए । आज एमाले सांसदहरु उठ्ने बितिक्कै सभामुखले बोल्न समय दिनुभएकोमा सत्ता पक्षका सांसदहरु विरोधमा उत्रनुले पनि उनीहरु सभामुखको तटस्थ भूमिकाप्रति आशंकित रहेको प्रष्ट हुन्छ ।  

एमालेले हिजो दिउँसो सदन खुलाउन बालुवाटारमा सहमति गरे पनि साँझदेखि संसद चल्न नदिएको सत्तापक्षको आरोप लगाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्तबुझ्दो नभएको जनाउँदै एमाले पुनः अवरोधमा उत्रिएको हो ।

टिप्पणीहरू